कैलालीका वन कर्मचारीहरूको दाबी – ‘टेम्पो अनियन्त्रित भएर खसेको हो’

काठमाण्डाै । कैलालीमा सडक किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ । टेम्पो धकेलेर सडकबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो ।

अस्ति शुक्रवार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले सडक किनारमा बसेर व्यापार गरेको आरोपमा एक जना स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसालिदिएका थिए । टेम्पो गोदावरीकै ४४ वर्षीया धनादेवी धामीको थियो । उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ ।

यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढी कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीरबाट नखसालिएको दाबी गरेका छन् । अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ । भिडिओमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रस्ट देखिन्छ ।

यस्तै वन कर्मचारीहरूले चक्का र इन्जिन पूर्णरूपमा बिग्रिएकोले टेम्पो खसेको दाबी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन् ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search