चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा विश्व कीर्तिमान कायम भएको छ । ६ महिनाभित्रै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगात्मक म्याग्लेभ ट्रेनले ५.३ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको छ ।
चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो ट्र्याकमा १ हजार १०० किलो तौल भएको रेलको सफल परीक्षण भएको हो ।
म्याग्लेभ अर्थात् ‘म्याग्नेटिक लेभिटेसन’ प्रविधिमा पाङ्ग्रा र ट्र्याकबीच घर्षण नहुने भएकाले गाडी हावामै तैरिएझैँ तीव्र गतिमा अघि बढ्छ । परीक्षणका क्रममा ८०० किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप २०० मिटरको दूरीभित्रै सहजै रोकिएको थियो जसले यसको आपत्कालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ ।
अहिले चीन र जापानमा सञ्चालनमा रहेका व्यावसायिक म्याग्लेभ रेलहरू ३२० देखि ३५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार यो अति–उच्च गतिको प्रविधि तत्काल यात्रु ओसारपसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमानको लन्च प्रणाली र भ्याकुम–ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ । यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन् ।











