काठमाण्डाै । पोखराको विजयपुर खोलाले बगाउँदा आज दिउँसो २ जना किशाेर बेपत्ता भएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अहिले पोखरा महानगरपालिका–१४ छिन्नेडाँडा बस्ने १४ वर्षीय निकसन गुरुङ र खोटाङ घर भई चाउँथे बस्ने १५ वर्षीय ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा–१४ विजय बस्तीबाट खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो ।कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढेकाले किशाेरहरूलाई बगाएको र गहिरो खोँचका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन भई बेपत्ता किशाेरहरूको खोजी भइरहेको छ ।











