काठमाण्डाै । निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रारम्भिक छलफल गरेको छ ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आयोगले पालिका तहको चुनाव आउँदो वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने तालिका प्रस्ताव गरेको छ ।
आयोगको प्रस्तावित तालिकाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनको व्यवस्थाभित्र रहेर चुनाव गर्नु उपयुक्त हुने धारणा राख्नुभएको छ । उहाँले पालिका चुनाव वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त नै देखिएको बताउनुभयो ।
यसअघि २०७९ वैशाखमा भएको पालिका चुनावबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाख ३० गते सकिँदैछ ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र पालिकाको चुनाव एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत् छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ ।
रास्वपाका प्रवक्ता एवम् सांसद जगदीश खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच वृहत् छलफल गरेर मात्रै चुनावका विषयमा निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ ।
खरेलले आज आयोगले गरेको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने उल्लेख गर्नुभयो । आवश्यकताअनुसार राजनीतिक दलह, सरकार र निर्वाचन आयोगबीच तथा अन्य सरोकारवालासँग थप छलफल गरेर पार्टीले आफ्नो आधिकारिक धारणा अघि बढाउने खरेलले बताउनुभएको छ ।
आज आयोगले गरेको छलफलमा रास्वपा सभापति रवि लामिछाने, प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक प्रचण्ड, नेकपा एमालेका देवेन्द्र दाहाललगायत सहभागी हुनुहुन्थ्यो । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि छलफलका लागि पुग्नुभएको थियो तर उहाँले पार्टीको निर्वाचन विभाग प्रमुख दाहाललाई छलफलमा बस्न भनेर बाहिरिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्