काठमाण्डौ । देवी महालक्ष्मीको पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् दशैँको अन्तिम दिनका रूपमा मनाइने यस पर्वमा बेलुकी घरघरमा महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ ।
`धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास छ । यसदिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको समेत पूजा गरिन्छ ।
असोज शुक्ल प्रतिपदादेखि शुरु भएको बडादशैँ पर्व कोजाग्रत पूर्णिमासँगै समापन भएको छ । विजयादशमीदेखि शुरु भएको मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम पनि हिजो सकिएको छ । घरघरमा राखिएको जमरा नजिकका नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा लगी विसर्जन गरिएको छ ।
माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष महत्व छ । योसँगै हिजैदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधनासमेत विधिवत् शुरु भएको छ । असोज पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म कात्तिक स्नान गर्ने, घरघरमा तुलसीको विशेष पूजा गर्ने तथा भगवान् विष्णुलाई समर्पित गरी आकाशदीप बाल्ने धार्मिक परम्परा छ ।
धार्मिक विश्वासअनुसार यस अवधिमा कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति तथा पुण्य प्राप्त हुने मान्यता छ ।आकाशदीपदानका लागि सम्भव भएसम्म बाँसको लिङ्गो ठड्याएर दीप बाल्ने र बाँस उपलब्ध नभए पलाँस, खयर, पीपललगायतका काठ प्रयोग गर्ने परम्परा छ ।
तुलसीको पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने धार्मिक मान्यता छ । कार्तिक स्नान गर्नेले कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना र भटमासलगायतका अन्न खान नहुने शास्त्रीय मान्यता छ । असोज शुक्ल पूर्णिमाकै अवसरमा स्वयम्भू चैत्यमा महादीपदानसमेत गर्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्