काठमाण्डाै । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४० प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको आकार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ४०.७१ प्रतिशतले विस्तार भई ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको हो ।
गएको आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार व्यापार ५ खर्ब ४० अर्ब रुपैयाँ मात्रै थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात व्यापारले इतिहासमै पहिलो पटक खर्बको आँकडा पार गरेको छ ।
साउनदेखि असोज मसान्तसम्म १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ जुन गएको वर्षको तुलनामा ५७.३ प्रतिशतले धेरै हो । निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेलको रहेको छ ।
यस्तै आयात पनि ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । आयातको तुलनामा निर्यात निकै कम रहँदा यस अवधिमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
कुल व्यापारमा निर्यातको हिस्सा बढेर १५.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा घटेर ८४.९८ प्रतिशतमा झरेको छ ।
यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ भने चीन दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्