काठमाण्डौ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश प्रदेशमा मध्यमसम्मको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘अर्नब’ चक्रवातको प्रभावले भोलि बिहीबार, पर्सि शुक्रवार र शनिवार देशका विभिन्न ठाउँमा ठूलो वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यस्तै महाशाखाले पर्सि शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ ।
यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ । यो बेला सकेसम्म लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान तत्काल नकाट्न सल्लाह छ ।
मुख्य बाली धान काटेको भए आजै भित्र्याउन र खेतमै भए अब मौसम खुलेपछि मात्रै काट्न र भण्डारण गर्न नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई आग्रह गरेको छ ।
बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय प्रणाली हिजो चक्रवातमा परिणत भएको छ । ‘अर्नब’ नाम दिइएको यो चक्रवात भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गरेको भारतीय मौसम विभागले जनाएकोे छ ।
प्रतिक्रिया दिनुहोस्