Ads3

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । उहाँले वडा तहको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो ।

केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाण्डौको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यहीँ आयोजना गर्ने निर्णय भएको छ । महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको चालिसेले बताउनुभयो । कांग्रेसले असोज १६ देखि १९ सम्म १५औँ महाधिवेशनको मिति तोकेको छ ।

असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ । पार्टीले यसअघि नै गएको पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रूपमा अद्यावधिक नभएकालाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरिसकेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्