काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरुले सहजीकरण थालेका छन् ।
दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली दूतावासले छुट्टाछुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
परिवारको सहयोगका लागि नेपाल फर्कनुपर्ने अवस्थामा रहेका यूएईमा कार्यरत नेपाली श्रमिकलाई नेपाली दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेको छ । रोजगारदाता कम्पनीबाट बिदा वा स्वीकृति लिन कठिनाइ भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेको हो ।
नेपाल फर्कन रोजगारदाताबाट अनुमति पाउन समस्या भएका श्रमिकले अबुधाबीको नेपाली दूतावास वा दुबईको नेपाली महावाणिज्यदूतावासमा आफ्नो अवस्था औपचारिक रूपमा जानकारी गराउन सक्नेछन् । त्यसका लागि कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत समस्या वा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनुपर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेको छ ।
प्राप्त विवरणका आधारमा सम्बन्धित रोजगारदाता कम्पनी तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्न सहज हुने दूतावासको भनाइ छ । यस्तै दक्षिण कोरियामा रहेको नेपाली दूतावासले पनि आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
दूतावासले सूचना निकालेर रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन स्थायी ठेगाना भएका तथा कम्पनीबाट बिदा वा अनुमति नपाएर समस्यामा परेका श्रमिकहरूलाई आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्कमा आउन आह्वान गरेको हो ।
कोरियामा कार्यरत र बाढीका कारण घर फर्किनै पर्ने बाध्यतामा परेका नागरिकहरूले आफ्नो विवरण दूतावासमा टिपाउनुपर्नेछ । विवरण बुझाउँदा आफ्नो पूरा नाम, नेपालको स्थायी ठेगाना, टेलिफोन नम्बर, पासपोर्ट नम्बर, एआरसी नम्बरका साथै आफू कार्यरत कम्पनीको म्यानेजरको सम्पर्क नम्बर र ईमेल ठेगाना समावेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्