चीनले तीन जना अन्तरिक्ष यात्रीसहित प्रक्षेपण गरेको ‘शेन्झाउ–२४’ मानवसहितको अन्तरिक्ष यानको उडान पूर्ण रूपमा सफल भएको जनाएको छ । चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्ने निकाय (सीएमएसए) ले आज बिहान अन्तरिक्ष यानको प्रक्षेपण पूर्ण रूपमा सफल भएको घोषणा गरेको हो ।
उत्तर–पश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–२ एफ रकेटमार्फत अन्तरिक्ष यान प्रक्षेपण गरिएको हो । यो अन्तरिक्ष यानमा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो, वु यी र पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जीशान अली हुनुहुन्छ ।
उहाँहरु चीनको कक्षीय अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’तर्फ प्रस्थान गर्नुभएको छ । चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम निकायका अनुसार प्रक्षेपण भएको झण्डै १० मिनेटपछि अन्तरिक्ष यान रकेटबाट अलग भएर निर्धारित कक्षमा प्रवेश गरेको थियो ।
अन्तरिक्ष यान निर्धारित कक्षमा प्रवेश गरेसँगै तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि निकायले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराएकोमा यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।
यो अभियानले चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत पहिलो पटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडानको इतिहास बनाएको छ । पाकिस्तानमा खुसीयालीमा उत्सव भएको छ । यो संयुक्त अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान सम्झौताको हिस्सा हो ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्