काठमाण्डौ । आज विश्व मुटु दिवस, नेपालमा पनि मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्व मुटु दिवस मनाउने गरिन्छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । ‘मुटुलाई धड्कन देउ’ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागिएको हो ।
यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयाघातका लक्षणबारे सचेत गराउनेतर्फ केन्द्रित छ । पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटुरोगको जोखिम बढ्दै गएको डाक्टरहरु बताउँछन् ।
सरकारी तथ्यांकअनुसार नेपालमा बर्सेनि १५ हजारभन्दा धेरै हृदयाघातका बिरामी थपिन्छन् । सुगर, प्रेसर र अन्य रोग लागेको थाहा नपाउँदा त्यसको दबाब मुटुमा परेर हृदयाघात हुने गरेको छ । मुटु स्वस्थ राख्ने गतिविधिमा ध्यान पुर्याउनुपर्नेमा मुटु रोग विशेषज्ञको जोड छ ।
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा मुटुरोगबाट वार्षिक ३० हजारको ज्यान जाने गरेको छ । त्यसमध्ये १३ देखि ४५ वर्ष उमेर समूहका एकतिहाइ रहेका छन् । मुटुरोग विशेषज्ञहरूका अनुसार नेपालमा युवावस्थामै मुटु बिग्रने क्रम बढ्दो छ ।
मुटुरोग जीवनशैलीसँग प्रत्यक्ष जोडिएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटुरोगको जोखिम धेरै घटाउन सकिने मुटुरोग विशेषज्ञ बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्