Ads3

आज विराटनगरको हावा अति अस्वस्थ, देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

आज विराटनगरको हावा अति अस्वस्थ, देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ । आज बिहान देशका अन्य शहरहरूको तुलनामा विराटनगरको हावा सबैभन्दा बढी अस्वस्थ मापन गरिएको छ ।

विराटनगरमा वायु गुणस्तर सूचकांक एक्यूआई २४६ पुगेको छ । जुन अति अस्वस्थकर श्रेणीमा पर्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई १५० नाघेपछि हावा सबैका लागि अस्वस्थकर हुन्छ भने २०० नाघेपछि यो अति अस्वस्थकर बन्छ ।

आज विराटनगरबाहेक देशका अन्य प्रमुख शहरहरूमा पनि प्रदूषणको मात्रा बढेको छ । आज काठमाण्डौमा एक्यूआई १६३, वीरगन्जमा १६४, चितवनमा १५५ र नेपालगन्जमा १५१ पुगेको रेकर्ड गरिएको छ ।

पानी पर्ने क्रम रोकिनु, वायुमण्डल स्थिर हुनु र विभिन्न ठाउँमा कृषि अवशेष जलाउने क्रम शुरु हुनुले वायु प्रदूषण बढेको हो । यसका साथै, छिमेकी देश भारतमा बढेको वायु प्रदूषणको असर पनि नेपालका विभिन्न भूभागमा देखिएको वायु गुणस्तर विज्ञहरूले बताएका छन् । 

अब सुख्खा र चिसो मौसम बढ्दै जाँदा वायु प्रदूषणको मात्रा थप उकालो लाग्ने सम्भावना हुन्छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

बिहान र बेलुकाको समयमा सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्न डाक्टरहरुको सुझाव छ ।

बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुका बिरामीहरूले विशेष सतर्कता अपनाउन चिकित्सक तथा वातावरणविद्हरूले सुझाव दिएका छन् । 

Muktinath

प्रतिक्रिया दिनुहोस्