नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ ।
यस्तै नेपाल र सर्बियाबीच द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र सर्बियाका परराष्ट्रमन्त्री मार्को डुरिचले द्विपक्षीय परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
द्विपक्षीय परामर्श संयन्त्रले नेपाल र सर्बियाबीच आपसी हित तथा चासोका विषयमा नियमित छलफल र परामर्शका लागि संस्थागत आधार प्रदान गर्ने मन्त्री खनालको सचिवालयले जनाएको छ ।
यसैबीच परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव अतुल खरेबीच भेटवार्ता भएको छ । खनालले राष्ट्रसङ्घका उपमहासचिव एवं डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख खरेसँग हिजो भेटवार्ता गर्नुभएको हो । यो भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा राष्ट्रसङ्घीय शान्ति स्थापनाका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको डिपार्टमेन्ट अफ अपरेसन सपोर्टले विश्वभर राष्ट्रसङ्घीय निकायका लागि आवश्यक सञ्चालन तथा सहयोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । नेपालले विश्व शान्ति र सुरक्षाका लागि विभिन्न राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा सैनिक तथा सुरक्षा जनशक्ति परिचालन गर्दै आएको र शान्ति स्थापनाका क्षेत्रमा नेपालको प्रतिबद्धता निरन्तर रहने विषयमा मन्त्री खनालले जोड दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्