काठमाण्डौ । लगातारको वर्षापछि आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीको बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बाढीले पक्की पुल बगाएको हो । वर्षाका कारण स्याङ्जाको मिर्मीको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाले विद्युत् उत्पादनसमेत बन्द गरेको छ ।
स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको प्रहरीले जनाएको छ ।
यस्तै, लमजुङमा पहिरोका कारण बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन तथा भासिएको सडक मर्मत गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्