काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पश्चिमका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । काठमाण्डौमा दिउँसोपछि झरी रोकिए पनि पश्चिमी भेगमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ ।
पश्चिमी भेगमा पनि गएरातिको भन्दा आज बिहानदेखि पानी केही कम हुँदै गएको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभएको छ । तर पश्चिममा आज दिनभर नै पानी पर्नेछ । देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुनेछ । गएराति बाग्मतीको चितवन, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् अधिकारीकाअनुसार विशेषगरी चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बाग्लुङ्ग, म्याग्दी, पर्वत, कास्कीलगायतका जिल्लामा मुसलधारे र आरीघोप्टे वर्षा भएको छ ।
ठूलो वर्षा ती क्षेत्रमा आज बिहानदेखि केही घटेको छ । गएराति भन्दा अहिले कम मात्रामा पानी परिरहेको छ । तर यसअघि परेको पानीले नारायणी, तिनाउसहित विभिन्न नदी तथा खोलामा जलसतह बढेकाले आज दिनभर नै सावधानी अपनाउन महाशाखाको आग्रह छ ।
काठमाण्डौमा बिहानभर पानी परे पनि दिउँसोपछि मौसम सुधार हुने मौसमविद् अधिकारीले बताउनुभयो । बङ्गालको खाडीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो । हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाण्डौ उपत्यकामा बिहानदेखि बेलुकासम्म झरी रोकिएकोमा काठमाण्डौमा फेरि पानी परेको हो ।
निरन्तरजसो पानी परेपछि जनजीवन प्रभावित भएको छ । मुख्य सडक अवरुद्ध नै छन् । मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ । कोशीबाट बाहिरिइसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेस र बागमतीमा भने कुनै जोखिम छैन । त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिममा आज पनि पानी पर्नेछ ।
आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाण्डौ उपत्यकालगायत बाग्मतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ । चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रुपमा खुल्ने अनुमान छ ।
मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमका जानकार उज्ज्वल उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन ।
यद्यपि मनसुनी प्रणाली देशैभरी अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ । अबको ८÷१० घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्