काठमाण्डाै । भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् ।जनैपूर्णिमाका दिन आज धेरैजसाे मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा लाइन लागिरहेका बेला भक्तपुरका किसान भने बिहान सबेरै विभिन्न खानाका परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आ–आफ्ना खेततिर लागेका पाइयो ।
भक्तपुरका किसानले ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो बोकेर खेततर्फ लम्किरहेका थिए ।
त्यसमा मालपुवा आकारका स–साना सेता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका थिए । त्यही पातलाई नाङ्लो वा किस्तीमाथि रक्षाबन्धनको धागो र सिन्दूरसमेत राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालिएको थियो । सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ, भ्यागुताको पूजा र भ्यागुतालाई भात ! तर यहाँका नेवार समुदायका किसानले सयौँ वर्षदेखि यो परम्परालाई जीवित राख्दै आएका छन् । आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसी भ्यागुतालाई पाहुनाका रूपमा डाक्ने र ती परिकार खानका लागि छाडिदिने अनौठ प्रचलन छ ।
पूजाका लागि डाक्ने भ्यागुतो सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिन्छ । साङ्केतिक रूपमा सिन्दूर पहिर्याइन्छ । अनि ऐनाका रूपमा किसानले भातमा गाडिएका मूलाका चाना देखाइदिन्छन् । किसानले खेतमै छाडेर गएको परिकार भ्यागुता आएर खाने जनविश्वास छ ।
यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो नौलो होइन । हरेक वर्षको जनैपूर्णिमाका दिन मनाइने यस पर्वलाई प्रकृतिसँग जोडेर भ्यागुताको पूजा गरिएको स्थानीय संस्कृतकर्मी प्रकाश धौभडेल बताउनुहुन्छ ।
भ्यागुताले पनि किसानका बालीनाली सपारिदिने हुँदा त्यसको गुन तिर्न भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको उहाँले बताउनुभयाे । प्रत्येक खेतमा पूजा गर्ने चलन रहेकाले धेरैतिर खेत हुने यहाँका किसानलाई सबैतिर पुग्न आज भ्याइनभ्याइ हुन्छ ।
त्यस परम्परालाई स्थानीय नेपाल भाषामा ‘ब्यां चा जानका वानेगू’ भन्ने गरिएको पाइन्छ । नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले भ्यागुतालाई किसानका सहयोगीका रूपमा लिएर सम्मान साथ भोज खुवाउने परम्परा रहेको बताउनुहुन्छ । भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिने र बाली बिगारिदिने कीटाणु खाइदिएर किसानलाई गुन लगाउने हुँदा भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उहाँ बताउनुहुन्छ ।
खेतमा काम गर्ने सिलसिलामा धेरै कीरा फट्याङ्ग्रा मारिने हुँदा क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन रहेको समेत विश्वास छ ।
‘भ्यागुता हाम्रो समाजमा बैद्धिक कालमा भएको गुरुचेलाको परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणाली पनि भ्यागुताबाट नै शुरू भएको मानिन्छ’, संस्कृतिविद् धौभडेल भन्नुहुन्छ, ‘यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान् गुरु भ्यागुतो हो ।’
भ्यागुताबाटै नै पूर्वजले शैक्षिक विद्याको शुरुआत गरेको प्रमाण ऋगवेदको ‘मन्धुक रिचा’ मा उल्लेख गरिएको बताउँदै उहाँ भन्नुहुन्छ, त्यस आधारमा भ्यागुताबाट नै पठनपाठन परम्परमा शुरू भएको मान्न सकिन्छ । खेतमा भ्यागुतालाई खानेकुरा लिएर जानुअघि घर नजिक रहेको मन्दिरमा गएर पूजाआजा गर्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्