(हटिया देखि लिंगमसम्म) किमाथांका यात्रा स्मरण–२ (भिडियोसहित)

किमाथाङ्का यात्राको पहिलो शृंखलामा सदरमुकाम खाँदबारीबाट चिचिला, नुम हुँदै हिँडेको पहिलो दिन हामी हटिया पुगेर बास बसेका थियौं । खाँदवारीबाट कोशी राजमार्गको समाटार, गोला बजार, बरुण दोभान अर्थात् वरुण बजारसम्म मोटर साइकलबाट सहज यात्रा गर्दै हामी हटिया आइपुगेका थियौं । करिब ३/४ घण्टा पैदल हिँडेर हामी हटियामा बास बस्न आइपुगेका थियौं । यात्राको दोस्रो श्रृङ्खलामा हामी किमाथांकालाई गन्तव्य बनाएर लिंगमसम्म पुग्नेछौं ।

किमाथांका यात्रा शुरु गरेको तेस्रो दिन हटियाबाट स्वागत छ तपाईलाई, देश खोज्ने यात्राको दोस्रो शृंखलामा । आउनुहोस्, संगै यात्रा गरौं, देश खोज्ने यात्रा ।

हटिया बजार आज मेला हाट बजारमा खुलेका तन्नेरी र तरुणी जस्तै खुलेको छ । ३ दिन अघि देखि झरिले रुझेको हटिया हरेक आगन्तुक परदेशीलाई आफ्नो अप्रतिम सौन्दर्य देखाउन आतुर छ । आकाश छोइरहेका पहाड र हिउँ थुप्रिएका हिमाल पनि पुछेर टल्काएका ऐना जस्तै टल्किए ।

बौद्ध सस्कृतिका हिमाली चिनारीहरु मुल बाटोमै पर्खिएका छन् । तिब्बति सम्बोटा लिपिबाट गुरु पद्म सम्भव र रिम्पोछेका महान् वाणी र ग्रन्थहरु कुँदिएका छ्योर्तेन र मानेका भित्ताका शिलाहरुले साँस्कृतिक समृद्धिको परिचय दिएका छन् । हिमाली बौद्ध परम्परासँग हाम्रो परिचय गराईरहेका छन् ।

हटिया गोला अर्थात व्यापारिक केन्द्र । परापूर्व कालदेखि नै भोटे वस्तीहरुमध्ये हटिया गोलाले देश विदेशमा समेत प्रसिद्धि पाएको छ । आज पनि भोटखोला गाउँपालिकाको केन्द्रका रुपमा समग्र भोटखोलाको राजनीतिक र आर्थिक प्रशासन चलाएको छ । यहाँबाट दुई दिन टाढा रहेको किमाथांका र थुदामबाट सेवा लिन हटिया नै आइपुग्नु पर्छ । यो विकट भूगोलले खडा गरी दिएको बाध्यता हो । साँच्चै भन्ने हो भने भौगोलिक अवस्थिति जति सुन्दर पक्ष हो, अभिशापित मानवीय जीवन पनि । तर, यही सुन्दरता अनि अभिशापकै बीचमा पनि सहजता सिर्जना गर्ने अवसरको पर्खाइमा छ भोटखोला ।

भर्खर–भर्खर मात्रै हटियामा जसोतसो मोटर गाडी पुगेको छ । ज्यान जोखिममा राखेर यात्रा गर्नु पर्छ मोटर गाडीमा यहाँ आउन । मोटरको यात्रा कहिले सहज र सुरक्षित हुने हो थाहा छैन । राष्ट्रिय राजमार्गले छोएको हटियामा अब बर्खा लागेसंगै मोटरको आवतजावत पनि वरुण दोभान मै सिमित हुन्छ । यसबेला यहाँ ठूला विपत्ति आइलागे वा बिरामी परे भने हेलिकप्टर चार्टर गर्नु पर्छ । यस किसिमको अवस्था हटिया गाउँसँगै सम्पूर्ण भोटखोलाबासीलाई राज्यले दिएको पुरस्कार हो ।

हटिया गाउँ एकनासका बनावट भएका करिब एक सय साठी संख्यामा घरहरुको बाक्लो बस्ती हो । हटिया आएपछि तातोपानी नपुग्ने कुरै भएन । यो यहाँको अर्को विशेषता हो । हटिया बजारबाट करिब १० मिनेट हिँडे पछी पुगिन्छ तातोपानी । तातोपानीमा गरेको स्नानले सारा रोगव्याधी हरण हुने विश्वास छ ।

तर केही वर्ष यता तातोपानीको मुहान सुक्दै जान थालेको छ । तातोपानीलाई व्यवस्थित गर्न र प्रचार गर्न सके हटिया आउने हरेक यात्रीको मनमा पनि तातोपानीको हाट लाग्न सक्छ ।

हटियाको करिब एक सय साठी परिवारले स्थानीय लघु जलविद्युत परियोजनाबाट उत्पादन भएको बिजुली बाल्दै आएका छन् । १८ किलोवाट विद्युत उत्पादन भएको यो लघु जलविद्युत परियोजनाले केन्द्रीय प्रशारणलाइन पर्खिरहेको छ ।

हिमाली संस्कृतिका खानी यहाँका भोटे समुदायहरु हुन् । टुङ्नाको धुनमा आफ्नो विनम्रता र सबैलाई सम्मान गर्ने संस्कृतिको झलक यसरी प्रस्तुत गर्दछन् ।

हामी मौकामा आइपुगेका रहेछौं, आज हटियामा प्रथम भोटखोला गाउँपालिका महोत्सव समापन हुने दि परेको रहेछ । त्यसैले हटियामा महोत्सवका दर्शक सहभागी विभिन्न गाउँबाट आउने क्रम जारी छ । बिहानको खाना पछि हामी पनि भोटखोला महोत्सवको कार्यक्रम स्थलतर्फ अघि बढ्यौँ ।
कार्यक्रममा भोटखोलाका स्थानीय उत्पादनहरु प्रदर्शन गरिएका छन् ।

यहीँ कार्यक्रमलाई सम्बोधन गर्न काठमाडौंबाट मन्त्रीहरुको आगमन हुन लागेको छ । स्थानीय झाँकी सहित स्वागतको तयारीमा छन् महोत्सव आयोजक । हेलीकप्टरबाट आउने मन्त्रीलाई के थाहा भोटखोलाको अन्त्यहिन अनि चरम दुःख । सत्ता र नेतृत्व परिवर्तन जस्तै रस्साकस्सी त गर्न पर्दैन भोटखोलाको अहिलेको अवस्था परिवर्तन गर्न । तर सत्ता परिवर्तन गरिरहने नेताहरुको बानीले गर्दा भोटखोलाले आफ्नो अवस्थामा परिवर्तन गर्नै पाएन ।

हेलिकप्टरबाट ठाँटीएर आएका उपप्रधानमन्त्री र रक्षामन्त्रीले आज भन्दा दुई दशक अघि बोलेका मन्त्रीहरुले जस्तै भाषणमा किमाथांका नाका खुल्ने भन्न भ्याए । तर पहिलेकै भाषणलाई सम्झाउन आए जस्तो गरेका मन्त्रीहरुको प्रतिबद्धतालाई भोटखोलावासीले पत्याएनन् । किनकी उनीहरुलाई थाहा छ, मन्त्री, नेताले बोल्ने मात्र हो, आफ्नो समृद्धिका लागि जस्तो पनि काम गर्ने हो, जनताका लागि होइन । पुरानै कुरा सम्झाउन हटिया आएका मन्त्रीहरु हेलिकप्टरमै फर्किए ।

हटियाबाट आजै अगाडि बढ्ने अकस्मात हाम्रो निर्णय भयो । जिल्लाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठ सहितको टोलि किमाथांकासम्म जाने भएपछि हाम्रो सदस्य संख्या पनि थपियो । यहाँबाट पैदल यात्रा गर्ने लक्ष्य परिवर्तन गरियो र लिङ्गमसम्म गाडीमा जाने भयौं । हटियाबाट हुङुङ, चेपुवा, लिङ्गम र च्याम्ताङका लागि केही दिन अघिसम्म बोलेरो गाडी नै आउदै थियो रे । तर मौसमकै कारण यो बाटोमा अब महिन्द्रा र ल्याण्डरोभर गाडी मात्र चल्न सक्छ । किनकी वर्खायामको संकेत हो यो ।

राजमार्ग भनेर मात्रै के गर्नु सडकको हालत हेर्दा ज्यानको बाजी थापेर यात्रा गर्नुछ । करिब २ घन्टा जोखिम यात्रा पछि हुङुङ पुगियो । हुंगुङ भोटखोला गाउँपालिकाको सबै भन्दा ठूलो मानव बस्ती हो । यहाँ पहिरोको जोखिम छ । यो बस्तीका केही घरपरिवारलाई सरकारले तत्काल व्यवस्थापन गर्न नसके ठूलो क्षति ब्यहोर्नु पर्ने छ । केही वर्ष अघि यहाँ पहिरोले क्षति गरेको थियो । अहिले पनि जोखिम उस्तै छ ।

यहाँबाट हामी लिङ्गमतर्फ अघि बढ्यौं । करिब ३ घण्टा उकाली–ओराली सकेर साँझमा लिङ्गम पुग्यौं । मोटर बाटो लिङ्गम गाउँभन्दा अलि माथि भएकाले हामी गाडीबाट ओर्लेर लिङ्गम ओरालो झ¥यौं । तेस्रो दिनको यात्रा लिंगम पुगेर टुंगिएको छ, देश खोज्ने यात्रा ।

यात्राको चौथो दिन आज ।
लिङ्गमबाट सबैलाई शुभ बिहानी । आज पनि हाम्रो यात्रालाई झरीले साथ छोडेको छैन । जसका कारण हाम्रो यात्रा अघि बढ्न सकेको छैन । लिङ्गमको विशेषता र सम्भावनालाई बुझ्न मौसम प्रतिकुल बनिरहेको छ । जसोतसो कुहिरो र हुस्सुलाई छलेर चेपुवा गाउँ देख्न पाइयो । झरिले रुझेको चेपुवा र लिङ्गम हामी जस्तै झोक्राएको छ ।

झरिलाई चिरेर लिङ्गम बासीले हामीलाई न्यानो स्वागत गरे । ठाउँका विशेषता, सम्भावना र समस्याको बारेमा सुझाए । हामीलाई स्वागत गर्नुको अर्थ पनि यो थियो कि लिङ्गमबासीका समस्या आगन्तुकहरुसँग साझा हुनुपर्छ । जस मार्फत हाम्रा दुखहरु सार्वजनिक होउन् ।

भोटखोलाको दुई माध्यमिक विद्यालय मध्ये एक लिङ्गममा छ, अरुणोदय । यहाँ हामिले सोँचे भन्दा फरक रहेछ । हामीलाई लाग्थ्यो, यति दुर्गम भेगमा थोरै विद्यार्थी होलान् । तर ३०० बढी विद्यार्थी अध्ययन गर्ने यो विध्यालयमा किमाथांका, रिदाक, थुदाम जहाँबाट आउन स्थानीयलाई नै १ दिन लाग्छ । हामी जस्ता शहरीया बानी लागेकालाई यो समय पर्याप्त होइन । विध्यार्थी संख्या कै कारण भोटखोलाका विध्यालय गाभ्दै जानु पर्ने, कक्षा घटाउनु पर्ने समस्या अरुणेदय माध्यमिक विद्यालयमा छैन । बरु अब यो विध्यालयलाई आवासिय बनाउन सके विध्यार्थी संख्या अझै बढ्ने छ भने टाढाबाट आएका विध्यार्थीहरु भाडामा बस्नु पर्ने समस्याको समाधान हुनेछ ।

लिंगमको वस्तु स्थिति र भौगोलिक अवस्थितिलाई प्रतिकुल मौसमका कारण पर्याप्त बुझ्न सकेनौं । तर जति बुझ्यौँ, यहाँको प्रतिनिधिमुलक समस्या बुझ्यौं । किमाथांका नाका सञ्चालन नहुँदा लिंगमलाई पनि असर परेको छ । व्यापार खस्कदो छ, महंगीले ढाड सेकेको छ । जसोतसो खाँदबारीबाट पुगेका सामाग्रीको ढुवानी खर्चको मारमै चुर्लुम्म डुबेको छ लिङ्गम ।

लिंगमको शिरबाट प्रवेश गरेको छ, राजमार्गले । चेपुवा ठूलो बस्ती भएपनि राजमार्गले छुन सकेन । सायद बस्तीहरुको जोखिम बढ्ने डरले होला । दुई दिन लिंगम प्रहरी चौकीकै साथमा रह्यौं ।

आजको बास पनि लिङ्गममै भयो । देश खोज्ने यात्रामा ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search