काठमाण्डौ । सङ्घीय संसद्को दुई वटा समितिको सभापतिमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एकरएक जनाको मात्र उम्मेदवारी परेको हो ।
सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको संसद् सचिवालयले जनाएको छ । उहाँको प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहेका छन् । यस्तै राज्यका निर्देशक सिद्धान्त समितिमा नेपाल एमालेका ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहेका छन् ।
आज दिउँसो बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।











