कोशी, गण्डकी र बागमतीका केही ठाउँमा वर्षा, अहिले ४ बजेदेखि नै हावाहुरी चल्ने सम्भावना

काठमाण्डाै । गण्डकीदेखि पूर्वतर्फका विभिन्न ठाउँमा मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार म्याग्दी, कास्की, मनाङ, लमजुङ, गोरखा, तनहुँ, चितवन, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु र सङ्खुवासभाका केही ठाउँमा पानी परिरहेको छ ।

यस्तै महाशाखाले आज दिउँसो ४ बजेदेखि नै हावाहुरी चल्न शुरू हुने सम्भावना रहेको जनाएको छ । यसअघि बेलुका पौने ६ बजेदेखि हावाहुरी चल्ने अनुमान गरिएकोमा विवरण अद्यावधिक गरी ४ बजेदेखि नै सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी, गण्डकी प्रदेशको नवलपुर तथा बागमती प्रदेशको चितवन आसपासका जिल्लामा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेको छ । हावाहुरी भोलि बिहान पौने ७ बजेसम्म नै रहने महाशाखाको अनुमान छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीका कारण रुख तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले यो समयमा अनावश्यक हिँडडुल नगर्न, झ्यालढोका पूर्णरूपमा बन्द गर्न तथा अग्ला रुख, खम्बा र बिजुलीका तारमुनि नबस्न आग्रह गरेको छ ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित ठूलो वर्षाको सम्भावना छ । तराईका केही ठाउँमा समेत हावाहुरी चल्ने अनुमान छ ।

यसैबीच प्रतिकूल मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने देखिएको छ । कृषि विभागले किसानलाई खेतमा काटेर राखेको गहुँ तत्काल सुरक्षित ठाउँमा लगेर भण्डारण गर्न आग्रह गरेको छ । विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले गहुँ भण्डारण गर्दा कीराबाट जोगाउन भकारीमा सुक्खा नीम, बकाइनो र तितेपातीका पात प्रयोग गर्न सुझाव दिनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search