काठमाण्डौ । अस्वस्थ जीवनशैलीले नसर्ने रोगको जोखिम बढाउँदै लगेको छ । मुख्यगरी अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटु, दमजस्ता नसर्ने रोग बढ्दो क्रममा छन् ।
विश्वव्यापीकरण, शहरीकरण, जनसङ्ख्याको वृद्धि, जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायतका कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरु बताउँछन् । मुटु रोग विशेषज्ञ डा।राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् ।
स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने थाहा भए पनि धेरैले बेवास्ता गर्दै आएको उहाँको अनुभव छ । खानेकुरामा ध्यान दिन नसक्दा विशेषगरी बालबालिकामा पनि मोटोपनको समस्या बढ्दो छ । धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम नहुँदा बोसो जम्ने डा।कोजु बताउनुहुन्छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा धेरै नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।
सूर्तीजन्य पदार्थको प्रयोग, शारीरिक व्यायामको कमी, धुमपान, जाँडरक्सी खाने, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने डाक्टरको भनाइ छ ।
उपचारात्मकभन्दा रोकथाममा नै शुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिने मधुमेह रोग विशेषज्ञ डा।ज्योति भट्टराई बताउनुहुन्छ । सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ । यसबाट पछि किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन् । उहाँले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपालले नसर्ने रोगका कारणले अल्पायुमा ज्यान गुमाउनेको सङ्ख्या सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले ज्यान गुमाउनेको सङ्ख्या घटाउने लक्ष्य लिएको छ ।