काठमाण्डौ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
सिंहदरबारमा आज फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले काठमाण्डौ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताउनुभएको हो । उहाँले फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले देशको सङ्घीय राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरू के कुरा व्यवस्थापन गर्न सक्छौँ भन्दै प्रश्न गर्नुभयो । उपप्रधानमन्त्री सिंहले फोहोर व्यवस्थापनको विषयमा छलफल र बहस मात्र गर्ने प्रवृति गलत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डौ उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय गइसकेको छ । छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो । फोहोरमैलामा राजनीति गरेर त भएन नि । देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरू के कुरा व्यवस्थापन गर्न सकौँला त ?’
सङ्घीयताको मर्मअनुसार तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने सिंहले उल्लेख गर्नुभयो । फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने भन्दै उहाँले कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको बताउनुभयो ।