ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि विभिन्न ठाउँमा गाडी पार्किङमा रोक लगाएको छ । महानगरले मङ्गलबजार, सुन्धारा, ग्वार्को सडक खण्ड, टङ्गल, थती (लगनखेल)सडक खण्डमा आजैदेखि गाडी पार्किङ निषेध गरेको छ ।
ललितपुर महानगर कार्यपालिकाले गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो । गाडी तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवतजावत सहज बनाउन पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभएको छ ।
पार्किङले गर्दा महानगरपालिका क्षेत्रभित्र रहेको पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्सजस्ता आकस्मिक गाडीलाई समेत आवतजावत गर्न असहज भएपछि पार्किङ निषेध गर्नुपरेको महानगरले जनाएको छ ।