नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले सरसफाई अभियानमा एकजुट हुन आह्वान गरेको छ । आइतबार प्रेश विज्ञप्ती जारी गर्दै महासंघले फोहोर व्यवस्थापनका लागि आग्रह गरेको हो । महासंघको आयोजनामा आइतबार खाँदबारीको बसपार्क क्षेत्र सरसफाई गरेपछी सरसफाईलाई निरन्तरता दिनका लागि एकजुट हुन आह्वान गरेको छ ।
विज्ञप्तीमार्फत अभियानमा सहभागी सम्पूर्ण संघसंस्थालाई धन्यवाद ज्ञापन गर्दै खाँदबारी नगरपालिका, यातायात व्यवसायी लगायत सरोकारवालाहरुसँग छलफल गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ महासंघ संखुवासभाको आयोजनामा सामुहिक सरसफाई अभियान संचालन गरिएको थियो । अत्याधिक फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघले खाँदबारी युथ क्लव, संबृद्ध बहुउद्धेशीय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासँगको संयुक्त आयोजनामा सरसफाई अभियान संचालन गरेको हो ।
सरसफाई अभियानमा जिल्ला समन्वय समिति संखुवासभा, खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, रेडक्रस, यातायात ब्यवसायी महासंघ लगायतको सहभागिता रहेको थियो ।