काठमाण्डौ । काठमाण्डौ उपत्यकामा झन्डै ३० लाख नागरिकको सुरक्षाका लागि साढे १० हजार जनामात्रै प्रहरी रहेका छन् । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार अहिले काठमाण्डौ उपत्यकामा ३० लाख २८ हजार ३ सय ८६ जना नागरिक रहेको तथ्याङ्क छ भने नेपाल प्रहरीको जनशक्ति १० हजार ६ सय ९ जनामात्रै रहेको छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरी निकायमा ११ हजार ७ सय ४९ जनाको दरबन्दी रहे पनि १ हजार १ सय ४० जनाको दरबन्दी रिक्त रहेको कार्यालयमा आयोजित पत्रकार सम्मेनलमा कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिनुभएको हो ।
एसएसपी खनालका अनुसार स्थायी जनसङ्ख्या सवा ३० लाख भए पनि तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा झन्डै ६० लाख जना मानिस रहने अनुमान छ ।
थोरै सुरक्षाकर्मीबाट पनि काठमाण्डौका ३ वटा जिल्लामा लागू गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको कार्यालयका प्रमुखसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।