मकालु महोत्सव सुरु, मकालुलाई योगदान गर्नेहरु सम्मानित

मकालु गाउँपालिकाको आयोजनामा मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन सुरु भएको छ । फागुन १४ देखि सुरु भएको महोत्सव १७ गते सम्पन्न हुनेछ । मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा महोत्सव सञ्चालन गरिएको हो ।

उद्घाटन कार्यक्रममा जिल्ला स्थित विभिन्न संघ संस्था, स्थानीय तहहरुका प्रमुख, उपप्रमुख, जातिय संस्थाका प्रमुखहरु, भारत, दार्जेलिङ र आसामका साहित्यकार तथा कलाकारहरु र सातै प्रदेशका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भाषा आयोगका सदस्य डा. पुस्करदेव भट्टको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विभिन्न जातजातिहरुको झाँकी प्रस्तुत गरिएको थियो । उक्त झाँकी प्रदर्शनले मकालु गाउँपालिका भित्र भएका जातिहरुमा साँस्कृतिक पहिचान बनाउन टेवा पुग्ने विश्वास रहेको वडा नं. ३ का वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।

गत वर्ष देखि मकालु गाउँपालिकाले मकालु महोत्सवको आयोजना गर्दै आएको छ । गत वर्ष सञ्चालन गरिएको महोत्सव तथा प्रचारप्रसारका कारण मकालु हिमाल आरोहण गर्नेको संख्या पनि बढेको गाउँपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षहरुमा १ करोड राजश्व संकलन हुन मुस्किल थियो । तर मकालु महोत्सवकै प्रभावले गत आर्थिक वर्षमा करिब १ करोड ८० लाख रुपैंया राजश्व संकलन भएको छ । यो वर्ष २ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको जनाइएको छ । संकलन भएका राजश्वको करिब १५ प्रतिशत महोत्सव सञ्चालनमा खर्च हुँदै आएको गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताउनु भयो ।

उद्घाटन समारोहकै अवसरमा मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गाउँपालिकाको तर्फबाट सम्मानित हुनेहरुमा निशुल्क १ थान एम्बुलेन्स उपलब्ध गराउने एट के एक्स्पेटेशन, १६ दिन भित्रै मकालु हिमालको ३ पटक सफल आरोहण गरी विश्व किर्तिमान राख्ने लाक्पा शेर्पा, मकालु गाउँपालिकाबाट मकालु हिमालको सफल आरोहण गर्ने पहिलो महिला याङ्जी शेर्पा, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका रहेको सेभेन समिट ट्रेक, पायोनिर एड्भेन्चर, फोटिन पिक्स एक्सपेटेशन र सेभेन समिट क्लवलाई सम्मान पत्रद्धारा सम्मान गरिएको मकालु साहित्य समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताउनु भयो ।

संखुवासभा साहित्यिक समाजद्धारा संगीतकार बुलु मुकारुङलाई २० हजार नगद पुरस्कार र भारतीय लेखक रण काफ्लेलाई मकालु साहित्य समाजकोतर्फबाट २१ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै जातिय झाँकी प्रस्तुतीका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

सांस्कृतिक प्रस्तुतिसहित गरिएको समारोहमा स्थानीय उत्पादनका स्टलहरु राखिएको थियो । स्टलमा चौरीको पुच्छर, राडीपाखी, हस्तकलाका सामाग्री र स्थानीय उत्पादनका परिकारहरु राखिएको थियो । महोत्सव कै अवसरमा अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता र कवि गोष्ठीको आयोजना गरिएको छ ।

विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर रहेको छ । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेका थिए ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search