मकालु गाउँपालिकाको आयोजनामा सञ्चालित मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलनको अवसरमा अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । बुधबार नुम बजारमा सुरु भएको महोत्सवमा आजबाट भलिबलतर्फ प्रतियोगिता सुरु गरिएको हो । आज भएको पहिलो खेलमा मकालु गाउँपालिकालाई सोझो सेटमा हराउँदै षडानन्द नगरपालिका भोजपुरले विजयी सुरुवात गरेको हो । षडानन्दले आयोजक मकालुलाई दुवै सेट १६ को विरुद्धमा गेम ओभर गरेको थियो ।
आजै भएको दोस्रो खेल बराबरीमा रोकिएको छ । सभापोखरी गाउँपालिका र भोटखोला गाउँपालिकाबिच भएको खेलको पहिलो सेट भोटखोलाले जितेको थियो भने दोस्रो सेटमा २६ का विरुद्ध २८ ल्याए सभापोखरीले खेलमा फर्किएको छ । दुई टिमबिच अबेर खेल सञ्चालन भएकोले भोलि पहिलो खेल सोही टिमबिचमा हुने आयोजकले जनाएको छ । यस प्रतियोगितामा ६ ओटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार, द्धितीय हुनेले १ लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्त्वना हुनेले ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले ३ हजार ५ सय साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबेरो, वेष्ट सरबर र वेष्ट डिफेन्सले जनही २ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।