“मकालु सन्देश” विशेषांक – ०३

मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”
यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।
समाचारहरु
१. मकालु महोत्सव सम्पन्न
मकालु गाउँपालिकाको आयोजनामा मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक  सम्मेलन सम्पन्न भएको छ । फागुन १४ देखि सुरु भएको महोत्सव १७ गते सम्पन्न भएको हो । मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवमा जिल्ला स्थित विभिन्न संघ संस्था, स्थानीय तहहरुका प्रमुख, उपप्रमुख, जातिय संस्थाका प्रमुखहरु, भारत, दार्जेलिङ, बर्मा र आसामका साहित्यकार तथा कलाकारहरु र सातै प्रदेशका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
महोत्सवको अवसरमा मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गाउँपालिकाको तर्फबाट सम्मानित हुनेहरुमा निशुल्क १ थान एम्बुलेन्स उपलब्ध गराउने एट के एक्स्पेटेशन, १६ दिन भित्रै मकालु हिमालको ३ पटक सफल आरोहण गरी विश्व किर्तिमान राख्ने लाक्पा शेर्पा, मकालु गाउँपालिकाबाट मकालु हिमालको सफल आरोहण गर्ने पहिलो महिला याङ्जी शेर्पा, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका रहेको सेभेन समिट ट्रेक, पायोनिर एड्भेन्चर, फोटिन पिक्स एक्सपेटेशन र सेभेन समिट क्लवलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
संखुवासभा साहित्यिक समाजद्धारा संगीतकार बुलु मुकारुङलाई २० हजार नगद पुरस्कार र भारतीय लेखक रण काफ्लेलाई मकालु साहित्य समाजकोतर्फबाट २१ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै जातिय झाँकी प्रस्तुतीका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै जातिय झाँकी प्रस्तुतीका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।
सांस्कृतिक प्रस्तुतिसहित गरिएको महोत्सवमा स्थानीय उत्पादनका स्टलहरु राखिएको थियो । स्टलमा चौरीको पुच्छर, राडीपाखी, हस्तकलाका सामाग्री र स्थानीय उत्पादनका परिकारहरु राखिएको थियो ।
विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर रहेको छ । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेका थिए ।
भलिबलको उपाधी पाँचखपनलाई
महोत्सवको अवसरमा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिकालाई हराउँदै संखुवासभाको पाँचखपन नगरपालिकाले उपाधि जितेको हो ।
पाँचखपनले २७–२५, २५–२३ र २५–२२ को सोझो सेटमा षडानन्दलाई हराएको हो । छिमेकी पालिका षडानन्द नगरपालिका उपविजेता बनेको छ ।
तेस्रो स्थानका लागि संखुवासभाको सभापोखरी र भोटखोला गाउँपालिकाबिच प्रतिस्पर्धा भएको थियो । सभापोखरीले २५–२२, २५–१३ को सोझो सेटमा भोटखोलालाई पराजित गरेको हो ।
बिहीबारदेखि सुरु भएको प्रतियोगिताको शनिबार समापन भएको हो । प्रतियोगितामा आयोजक मकालु गाउँपालिका (ए र बी) दुई टिम, सभापोखरी, भोटखोला, पाँचखपन र भोजपुरको षडानन्द नगरपालिका गरी ६ टिमको सहभागिता थियो ।
प्रतियोगिताका विजेताहरुले क्रमश २ लाख ५० हजार, १ लाख २५ हजार, ६० हजार र ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट खेलाडीले ३ हजार ५ सय साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबेरो, वेष्ट सरबर र वेष्ट डिफेन्सले जनही २ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
२. मकालुमा मोतियाविन्दु छनौट तथा कान सम्बन्धी शिबिर हुने
संखुवासभाको मकालु गाउँपालिकामा मोतिया विन्दु छनौट तथा कान सम्बन्धी शिबिर हुने भएको छ । मकालु गाउँपालिकाको आयोजनामा नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी र मकालु आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने भएको हो ।
फागुन २३ गते देखि २८ गतेसम्म मकालुका विभिन्न स्थानमा शिविर हुने भएको छ । फाल्गुन २३ गते मांसिमा सामुदायिक स्वास्थ्य इकाईमा, २४ गते पावाखोला स्वास्थ्य चौकि कारमाराङमा, २५ गते गोलेचौर सामुदायिक स्वास्थ्य इकाईमा हुनेछ । यसैगरि फाल्गुन २६ गते मकालु स्वास्थ्य चौकि सेदुवामा, २७ गते ठाँगे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र २८ गते याफू स्वास्थ्य चौकि डाँडा गाउँमा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।
शिविरमा छनौट भएको मोतिया विन्दुका बिरामीहरुलाई निशुल्क शल्यक्रिया गरिनेछ । ५० बर्षभन्दा माथिका नेत्ररोगीहरुलाई लेखपढ गर्नका लागि निशुल्क चस्मा वितरण गरिने छ । शिविरमा छनौट गरिएका मोतिया विन्दुका विरामीलाई २०८१ चैत्र २ र ३ गते नुम प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क शल्यक्रिया गरिने छ ।
मकालु गाउँपालिका वडा नं.५ मांसिमा बाहेकका अन्य टोलका नागरिकलाई भने मकालु आखाँ उपचार केन्द्र नुममा सम्पर्क गर्न आग्रह गरिएको छ ।
३. मकालु गाउँपालिकामा एक्स रे मेसिनद्घारा क्षयरोगको पहिचान गरिने 
संखुवासभाको मकालु गाउँपालिकामा एक्स रे मेसिनद्घारा क्षयरोगको पहिचान गरिने भएको छ । पावाखोला सामुदायिक स्वास्थ्य इकाई मकालु ४ र मकालु स्वास्थ्य चौकि मकालु २ साथै मकालु गाउँपालिकाको संयुक्त आयोजना र स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, धनकुटाको प्राविधिक सहयोगमा क्षयरोग पहिचान गरिने भएको छ ।
क्षयरोगमुक्त अभियान अन्र्तगत लुकेर रहेका क्षयरोगीहरुको पहिचान एक्स रे द्घारा गरिने भएको हो । यस अघि क्षयरोग लागेर निको भएका सम्पूर्ण परिवार, क्षयरोगका लक्षण चिन्ह भएका व्यक्तिहरु र ६० बर्ष देखि माथिका सबै जेष्ठ नागरिकहरुलाई शिविरबाट पहिचान गरिने भएको छ । शिविर फाल्गुन २४ र २५ गते पावाखोला स्वास्थ्य चौकि मकालु वडा नं. ४ र फाल्गुन २६ र २७ गते मकालु स्वास्थ्य चौकि मकालु वडा नं. २ मा हुनेछ ।
४. मकालु ६ मा बेरोजगार फारम भर्न आह्वान 
मकालु गाउँपालिका वडा नं. ६ मा बेरोजगार फारम भर्न आह्वान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम आर्थिक बर्ष २०८२÷०८३ मा सञ्चालन हुने विभिन्न कामका लागि फारम भर्न आह्वान गरिएको छ । स्वरोजगारमुलक तालिममा सहभागी हुनका लागि १८ बर्ष पुरा भई ५९ बर्ष ननाघेका बेरोजगार व्यक्तिहरुलाई फारम भर्न आह्वान गरिएको हो ।
फारम भर्नका लागि नेपाली नागरिकताको प्रतिलिपी, परिवारका सम्पूर्ण सदस्यहरुको नेपाली नागरिकता, जन्म दर्ताको प्रतिलिपि, अन्य पालिकाबाट विवाह गरि आएका महिलाको हकमा विवाह दर्ताको प्रतिलिपि, अन्य पालिकाबाट बसाईसराई गरि आएका व्यक्तिको हकमा बसाईसराईको प्रतिलिपि र फोटो २ प्रति संलग्न गरी फारम भर्नुपर्ने छ ।
वडा कार्यालयले जारी गरेको सूचना अनुसार फाल्गुन मसान्तसम्म फारम भरिसक्नु पर्ने वडा अध्यक्ष नरेन्द्र कुमार राईले जानकारी दिनु भयो ।
५. मकालुका ५ सय ९९ जनालाई एचपीभी खोप दिइयो
संखुवासभाको मकालु गाउँपालिकामा ५ सय ९९ जनालाई एचपीभी खोप दिइएको छ । नेपाल सरकारले २०८१ माघ २२ गते देखि फागुन ७ गतेसम्म देशैभर एचपीभी खोप अभियान सञ्चालन गरेको थियो । जस अन्तर्गत मकालु गाउँ पालिकाले माघ २७ गते देखि फाल्गुन २ गतेसम्म अभियान सञ्चालन गरेको थियो ।
मकालुका विद्यालय क्षेत्र भित्रका ५ सय ७० र विद्यालय बाहिरका २९ गरि ५ सय ९९ जना कोशोरीहरुलाई खोप दिइएको मकालु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छिङदोर्जि लामाले जानकारी दिनुभयो । सो अभियानमा २८ ओटा खोप केन्द्रमा २६ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो भने ४८ जना स्वयमसेवक खटिएका थिए ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान मकालु गाँउपालिका अन्र्तगतका विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई र विद्यालय नजाने १० देखि १४ बर्षसम्मका किशोरीहरुलाई दिइएको हो ।
विज्ञापनहरु :
१.
मकालु गाउँपालिकाको कार्यालय
नुम, संखुवासभा
मितिः २०८१।११।०१
विषयः शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
प्रस्तुत विषयमा मकालु गाउँपालिकाको आयोजना, नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र र मकालु आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन हुने मोतिया विन्दु छनौट र कान सम्बन्धी समस्या भएका विरामीहरुलाई लक्षित गरि निम्न मिति, समय र स्थानमा मोतिया विन्दु छनौट र कान सम्बन्धी शिविर सञ्चालन हुने भएकोले आफुलाई पायक पर्ने स्थानमा उपस्थित भई सेवा लिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल :
             मिति                                               स्थान                                                    समय
२०८१ फाल्गुण २३ गते             मांसिमा सामुदायिक स्वास्थ्य इकाई                         १०–४ बजे
२०८१ फाल्गुण २४ गते             पावाखोला स्वास्थ्य चौकी कारमाराङ                       १०–४ बजे
२०८१ फाल्गुण २५ गते             गोलेचौर सामुदायिक स्वास्थ्य इकाई                        १०–४ वजे
२०८१ फाल्गुण २६ गते             मकालु स्वास्थ्य चौकी सेदुवा                                    १०–४ बजे
२०८१ फाल्गुण २७ गते             ठाँगे आधारभुत स्वास्थ्य सेवा केन्द्र                           १०–४ बजे
२०८१ फाल्गुण २८ गते              याफु स्वास्थ्य चौकी डाडाँगाउँ                                 १०–४ बजे
सेवाहरुः
 शिविरमा छनौट भएको मोतिया विन्दु रोगीहरुलाई निःशुल्क शल्यक्रिया गरिनेछ ।
 ५० वर्षभन्दा माथिकालाई नेत्ररोगीहरुलाई लेखपढ गर्नका लागि निःशुल्क चस्मा वितरण गरिनेछ ।
 शिविरमा छनौट गरिएको मोतिया विन्दुका विरामीहरुलाई २०८१ चैत्र २ र ३ गते नुम प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क शल्यक्रिया गरिनेछ
इन्द्र बहादुर दर्जी
प्रमुख प्रशासकीय अधिकृत
२.
मकालु गाउँपालिका
नुम, संखुवासभा
मितिः २०८१।११।०६
विषयः एक्सरे मेसिनद्वारा क्षयरोगको पहिचान हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
प्रस्तुत विषयमा यस मकालु गाउँपालिकाको २ नं. वडा कार्यालय, ४ नं. वडा कार्यालय र मकालु गाउँपालिकाको कार्यालयको संयुक्त आयोजना तथा स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, धनकुटाको प्राविधिक सहयोगमा क्षयरोग मुक्त अभियान कार्यक्रम अन्तर्गत लुकेर रहेको क्षयरोगीहरुका (TV) पहिचान एक्सरे मेसिनद्वारा निम्न मिति, स्थान र समयमा क्षयरोग पहिचान सम्बन्धी शिविर सञ्चालन हुने भएकोले यस अघि क्षयरोग लागेर निको भएकाको सम्पुर्ण परिवार, क्षयरोगको लक्षण चिन्ह भएका व्यक्तिहरु र ६० वर्ष देखि माथिका सबै जेष्ठ नागरिकहरुलाई यस शिविर मार्फत क्षयरोगको पहिचान गर्ने भएको हुनाले आफुलाई पायक पर्ने स्थानमा उक्त सेवा लिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
तपसिल
सि.न.                      शिविर सञ्चालन हुने स्थान                                                       मिति                                                   समय
१.             पावाखोला स्वास्थ्य चौकी, मकालु–४ कारमाराङ                    २०८१ फाल्गुण २४ र २५ गते                    ९ देखि ४ बजेसम्म
२.             मकालु स्वास्थ्य चौकी, मकालु–२, सेदुवा                                २०८१ फाल्गुण २६ र २७ गते                    ९ देखि ४ बजेसम्म
इन्द्र बहादुर दर्जी
प्रमुख प्रशासकीय अधिकृत
यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा एक्सप्रेस साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search