मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”
यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।
समाचारहरु
१. मकालुमा मोतियाविन्दु छनौट तथा कान सम्बन्धी शिबिर सम्पन्न
संखुवासभाको मकालु गाउँपालिकामा मोतिया विन्दु छनौट तथा कान सम्बन्धी शिबिर सम्पन्न भएको छ । मकालु गाउँपालिकाको आयोजनामा नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी र मकालु आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिबिरमा ७ सय ७२ जनाले सहभागिता जनाएका थिए । जसमा पुरुष ३ सय १६ जना र महिला ४ सय ५६ जना रहेका थिए । उनीहरु मध्ये ६९ जना मोतिया बिन्दुका बिरामी रहेको आयोजकले जनाएको छ । जसमा ३७ जना पुरुष र ३२ जना महिला रहेका छन् ।
वडागत रुपमा सञ्चालन गरिएको शिविरमा मकालु १ वालुङमा ६ जना, मकालु २ सेदुवामा २९ जना, मकालु ३ गोलेचौरमा ९६ जना, मकालु ४ पावाखोलामा ६ जना, मकालु ५ मांसिमामा ७ जना र मकालु ६ याफूमा ६ जना मोतिया बिन्दुका बिरामी छनौट भएका हुन् ।
शिविरमा सहभागी मध्ये ५ जना आँखाका विरामीको अवस्था सामान्य रहेको जनाइएको छ । यस्तै लेखपढ गर्न सक्ने ४ सय ५० जनालाई निशुल्क चस्मा वितरण गरिएको छ भने ६ सय जनालाई निशुल्क औषधी वितरण गरिएको छ ।
फागुन २३ गते देखि २८ गतेसम्म मकालुका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको हो । शिविरमा छनौट भएको मोतिया विन्दुका बिरामीहरुलाई निशुल्क शल्यक्रिया गरिने तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताउनु भयो ।
शिविरमा छनौट गरिएका मोतिया विन्दुका विरामीलाई चैत्र २ र ३ गते नुम प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क शल्यक्रिया गरिने छ ।
२ं. मकालु गाउँपालिकामा क्षयरोगका ६ जना नयाँ बिरामी
संखुवासभाको मकालु गाउँपालिकामा क्षयरोगका ६ जना नयाँ बिरामी पत्ता लागेका छन् । फागुन २४ देखि २७ गतेसम्म सञ्चालन गरिएको क्षयरोग परिक्षणका क्रममा नयाँ बिरामी पत्ता लागेको हो । एक्स रे मेसिनद्घारा क्षयरोगको पहिचानका लािग दुई स्थानमा ४ दिवसीय शिबिर सञ्चालन गरिएको थियो । पावाखोला सामुदायिक स्वास्थ्य इकाई मकालु ४ र मकालु स्वास्थ्य चौकि मकालु २ साथै मकालु गाउँपालिकाको संयुक्त आयोजना र स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, धनकुटाको प्राविधिक सहयोगमा क्षयरोग पहिचानका लागि शिविर सञ्चालन गरिएको हो ।
शिविरमा मकालु गाउँपालिका वडा नं. २ का ४ सय २२ जना र मकालु ४ का ३ सय जनाकोे सहभागीता रहेको थियो । वडा नं. २ सेदुवामा ४ सय ७ जनाको टिबी परिक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको हो यस्तै मकालु ४ मा २ सय ९१ जनाको परिक्षण गरिएकोमा ३ जनालाई संक्रमण रहेको क्षयरोग मुक्त कार्यक्रम संयोजक राजु शाहले जानकारी दिनु भयो ।
क्षयरोग मुक्त अभियान अन्र्तगत लुकेर रहेका क्षयरोगीहरुको पहिचान एक्स रे द्घारा गरिएकोे हो । शिविर फाल्गुन २४ र २५ गते पावाखोला स्वास्थ्य चौकि मकालु वडा नं. ४ र फाल्गुन २६ र २७ गते मकालु स्वास्थ्य चौकि मकालु वडा नं. २ मा भएको थियो ।
अन्तरवार्ता
भीर मौरी संरक्षण र व्यवसायिकतामा जोड दिएका छौँ : योगराज राई
मकालु गाउँपालिकामा ६ ओटा वडाहरु रहेका छन् । जसमध्ये गाउँपालिकाको केन्द्र रहेको वडा नं. ५ का वडा अध्यक्ष योगराज राईसँग सञ्चारकर्मी मेघराज तामाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
१. अध्यक्ष ज्यू यहाँलाई मकालु सन्देशमा स्वागत छ ।
धन्यवाद ।
२. मकालु गाउँपालिका वडा नं ५ ले यो चालु आर्थिक बर्षमा के कति योजनाहरु सञ्चालन गरिरहेको छ ?
यो आर्थिक बर्ष २०८१/८२ मा मकालु ५ मा जम्मा ६५ लाख बराबरको बजेट विनियोजन भएको थियो । त्यसमा हामिले २२ वटा योजनाहरु छनौट गरेका छौँ साथै गाउँपालिका अन्तर्गत पनि २२ वटा नै योजना छनौट भएको छ ।
३. यी मध्ये कति वटा योजनाहरु सम्झौता भए, सञ्चालन भए त ?
लगभग योजना त ९९ प्रतिशत नै सम्झौता भइसकेको छ र कुनै योजनाहरु सम्पन्न भएर पनि भक्तानीको प्रकृयामा गैसकेको छ र नुम खानेपानीको एउटा कार्यक्रम चाहिँ सम्झौता हुन सकेको छैन । अन्य लगभग योजना सम्झौता भएर काम प्रक्रियामा छ ।
४. प्रदेश र संघबाट आउने योजनाहरु चाहिँ कति बजेटको ? कस्ता योजनाहरु छन् ?
यो संघबाट आउने अहिले नुम मांसिमा सडक स्तरोन्नती भनेर १ करोडको बजेट थियो जुन चाहिँ सर्बे भईसकेको छ र टेन्डरको प्रक्रियामा छ । प्रदेशबाट चाहिँ नुम मांमिमाको नै कुनै ठाउँमा खोक्ताक नजिकै स्तरोन्नती नै गर्ने भएको हुनाले यो पनि सर्बे भैसकेको छ र यो पनि टेन्डरको प्रक्रियामा छ ।
५. साउन देखि यता अहिले हामी फाल्गुनको अन्तिममा छौँ, यो बिचमा भएका योजनाहरु सञ्चालनको विषयमा गत आर्थिक बर्ष यहि अवधीमा कामको रफतार अथवा प्रगती प्रतिशत कस्तो छ र अहिलेको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अब कस्तो छ भने पोहोर साल हामिले कार्यक्रमहरुलाई एकै चोटि सम्झौता गर्ने र फरफारक गर्ने र भुक्तानीको प्रक्रियालाई पनि एउटै तरिकाले गर्दाखेरी पुरा भुक्तानी दिन नसक्ने र त्यसलाई अन्य सारेर भुक्तानी दिनुपर्ने अवस्था भएको कारणले गर्दा यो साल चाहिँ हामिले ३ चरणमा योजना सम्झौता गर्ने भनियो । त्यसलाई क्रमागत रुपमा भुक्तानी गर्ने प्रकृयाले गर्दा खेरी अलिकति पोहोर सालको भन्दा यो साल अलि कार्यक्रम रफतारमा हुन नसकेको होकि भन्ने मात्रै हो तर पनि अहिले खासै समयमा योजना सम्पन्न हुन नसक्ने अवस्था देखिँदैन । गाउँपालिका र वडाको कार्यक्रम त समयमै सम्पन्न हुन्छ । अन्य यो प्रदेश र संघको बजेटमा चाहिँ अहिलेसम्म काम सुरु नभएको हुँदा अलि ढिलो हुन्छकि भन्ने देखिन्छ ।
६. संघ र प्रदेशको कार्यक्रमहरु सम्झौता चाहिँ भएको छ ?
सम्झौता भएको छ । कार्यान्वयनको पक्षमा जानु चाहीँ बाँकी छ ।
७. यहाँले त्यो क्रमागत रुपमा कार्यक्र्रम सम्झौता गर्ने भनेर जस्ले चाहिँ कार्यक्रम सञ्चालन गर्न असहजता भएको छ भन्नु भयो, यो क्रमागत भन्नाले चाहिँ कस्तो योजनाहरु अघिपछि गर्ने कि कसरी गर्ने हो ?
त्यो कार्यक्रम योजना चाहिँ वडाले छनौट गर्ने हो । कुन कार्यक्रम चाहिँ अगाडि सम्झौता गर्ने भन्ने कुरा हो र त्यो सम्झौता सुरुमा गर्ने र त्यसलाई त्यहीँ अनुसार भुक्तानी पनि अगाडी देखि पछाडीसम्म मिलाएर गर्दा खेरी क्रमागत रुपमा भुक्तानीको लागि आर्थिक बोझ पनि गाउँपालिकालाई नपर्ने हिसाबले छनौट गर्ने भन्ने कुरा गाउँकार्यपालिकाको निर्णयले त्यहि अनुसार कार्यान्वयन गरियो ।
८. भनेको कार्यक्रम अगाडि पछाडी सञ्चालन गर्दा खेरी चाहिँ पालिकामा आएर फरफारक गर्नु अथवा सम्झौता गर्नलाई सहजता हुने देखेर यहाँहरुले निर्णय लिनु भयो कि ?
सबैभन्दा मुख्य कुरा चाहिँ भुक्तानीको प्रक्रियामा नै एकै चोटि आर्थिकभार हुने र सबैलाई भुक्तानी दिन नसक्ने अवस्था आउँछ भनेर हामिले क्रमागत रुपमा गरेका हौँ ।
९. यहाँहरु निवार्र्चित भएको ३ बर्ष पुरा हुन लाग्यो । यो अवधीमा चाहिँ गत आर्थिक बर्षहरुको योजना सञ्चालन र अहिले यो चालु आर्थिक बर्षमा विनियोजन गरेर बजेटको कार्यान्वयन भैरहदा खेरी यो बर्ष गत आर्थिक बर्षमा भन्दा केहि नयाँ योजनाहरु थियो ?
यसपाली हामिले महत्वपुर्ण काम चाहिँ के गरियो भने हरेक सम्झौता गर्न अरु आर्थिक बर्षमा गाउँपालिका आउनु पर्ने थियो । प्रत्येक वडाका मान्छेहरुले दुख पाउनु पर्ने, धेरै दिन कुर्नु पर्ने थियो । त्यो समस्याले गर्र्दा खेरी यसपाली प्राविधिक लगायत सबै वडामा सचिवहरुको व्यवस्था गरि वडामै सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइएको हो । त्यसले गर्दा खेरी जनताहरुलाई सम्झौता गर्नको लागि सहज भएको हामिले महसुश गरेका छाँै ।
१०. मेरो प्रश्नले खोजेको चाहिँ गत आर्थिक बर्षमा सञ्चालन गरिराखेको योजना भन्दा फरक अथवा नयाँ खालको वडाले कुनै निती योजना अगाडी बढाएको स्थिती छ ?
सबै भन्दा मुख्य कुरा आवश्यकतालाई नै मध्यनजर गरेर जनताको त असिमीत माग हुन्छ । त्यसले गर्दा खेरी खासै त्यस्तो नयाँ कार्यक्रम त गर्न सकिएन नै भन्नु पर्ला र यो साल अलिकति फरक किसिमको यहिँ कार्यक्रम गरम भनेर चाहिँ वडा नम्बर ५ ले पर्यटकहरुलाई पनि मध्यनजर गर्दै एउटा आकर्षक मिडियाहरुमा पनि देखिएको जस्तै भीर मौरी मह नयाँ कार्यक्रम राख्न चाहिँ खोजेको हो । तर हामिलाई सम्झौता गर्न चाहिँ असहज भयो । कसरी त्यसलाई भुक्तानीको प्रक्रियामा लाने ? कार्यक्रम कसरी बनाउने भन्ने कुरा अलिअलि असहज छ ।
हाम्रो कुरा के भने विभिन्न पत्रकारहरुलाई बोलाउने, मह काड्ने विज्ञ मान्छेहरुलाई पनि झिकाउने र त्यसो गर्दा चाहिँ एउटा निश्चित ठाउँमा हाम्रै ठाउँमा पाइने भीर मौरीको मह आधुनिक तरिकाले काड्ने र यो ठाउँमा यो चिज पाउने रहेछ भन्ने एउटा सन्देशमुलक पनि अनि पर्यटकहरुलाई पनि आकर्षण गर्छ भन्ने हिसाबले त्यो एउटा कार्यक्रम चाहिँ सामान्य रुपमा हामिले गरेका छाँै । त्यो भन्दा फरक चाहिँ छैन । यो भन्दा अगाडि एक दुई वटा मकालु गाउँपालिकाको नयाँ चीज भनौँ मार्सी धानको कार्यक्रम हाम्रोेमा ताकमारु भनिन्छ । यो मांसिमामा अलि धेरै मात्रामा पाईन्छ । त्यो कार्यक्रम चाहिँ अरुबेला गरियो ।
११. हवस्त यहाँलाई समय र सम्बादको लागि धन्यवाद ।
हस् धन्यवाद ।
विज्ञापन
१
मकालु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
नुम, संखुवासभा
प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
(पहिलो पटक प्रकाशन मिति : २०८१/११/२६ गते)
प्रस्तुत विषयमा मकालु गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तर्गत आ.व. २०८१÷०८२ को स्वीकृत कार्यक्रम अनुसार तपशिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा निवेदन दर्ता गर्नहुन अनुरोध गरिन्छ । साथै रीत नपुगी वा म्याद नाघी प्राप्त निवेदनहरु समावेश नगरिने व्यहोरासमेत जानकारी गराईन्छ ।
तपशिल
क्र.सं. कार्यक्रमको नाम कार्यक्रम हुने स्थान
१. महिला संजाल समूहको काम कर्तव्य र अधिकार सम्बन्धी तालिम मकालु गाउँपालिका वडा नं. ६ को कार्यालय, डाँडा गाउँ
निवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु :
१. तालिममा सहभागि हुने निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
३. ६ नं. वडा कार्यालयको सिफारिस ।
तालिम कार्यक्रमका लागि सहभागी छनौटका आधारहरु : मकालु गाउँपालिकाको वडा नं. ६ को प्रगतिशिल महिला विकास समूहमा आवद्ध भएका महिलाहरु ।
नोट : सूचनाको अन्तिम मिति २०८१/१२/११ गतेसम्म (कार्यालय समय भित्र) रहने छ । साथै थप जानकारीका लागि मकालु गाउँपालिकाको कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागारिक शाखा ९८४२५२६७०५ तथा वडा नं. ६ को कार्यालय ९८४०७७२२१४ मासमेत सम्पर्क गर्नुहुन अनुरोध छ । साथै इच्छुक व्यक्तिहरुले वडा कार्यालयमा समेत निवेदन पेश गर्न सक्नु हुनेछ ।
इन्द्र बहादुर दर्जी
प्रमुख प्रशासकीय अधिकृत
यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।