संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ मा रहेको निमन गढीलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउन पहल सुरु गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्व रहेको गढीको संरक्षण, पुन निर्माण र आकर्षक बनाउन थालिएको छ । युद्धकालका भग्नावशेषसमेत रहेको गढीलाई पुन निर्माणका लागि गत आर्थिक वर्षमा पुरातत्व विभागबाट नगद २० लाख रुपैंया प्राप्त भएको थियो । जसबाट सेन्ट्री, बंकर लगायतका युद्धकालका झल्को दिने संरचनाहरु निर्माण गरिदैछ । चालु आर्थिक वर्षमा पनि ५ लाख रुपैंया विनियोजन भएको वडा अध्यक्ष सन्तोष वस्नेतले बताउनु भयो ।
पर्यटकहरुलाई आकर्षण गर्न गढी आसपास विभिन्न संरचनाहरु निर्माण हुँदैछन् । वैदेशिक रोजगारमा रहेका वडा नं. ७ का युवाहरुको सहयोगमा फोहोर संकलनका लागि खाडल निर्माण, बालबालिकाहरुका लागि पिङ र फोटो फ्रेम निर्माण गरिएका छन् । पिङ ३० हजार र फोटो फ्रेम ३१ हजारमा निर्माण भएको हो ।
यस्तै अग्रज पत्रकार तथा समाजसेवी बलराम थापाले करिब डेढलाख निजी खर्चमा सार्वजनिक शौचाललय निर्माण गर्नुहुने भएको छ । उक्त शौचालयको निर्माण कार्य सुरु गरिएको छ ।
विभिन्न दातहरुको सहयोगमा निर्माण गर्न लागिएको निमन गढी धार्मिक तथा पर्यटकीय स्थललाई आवश्यक सुझाव तथा सहयोग गर्न वडा अध्यक्ष वस्नेतले आह्वान गर्नुभएको छ ।
पाँचखपन नगरपालिकाको केन्द्र रहेको वाना बजारबाट नजिकै रहेकालेसमेत निमन गढी धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने देखिन्छ । नजिकै रहेको पाथिभरा र गढी डाँडामा स्थानयि धार्मिक विश्वास रहेकाले पनि निमन गढीलाई पर्यटकहरुको गन्तव्य बनाउन सकिने छ ।