तोकिएको समयसीमामा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता भएनन्

काठमाण्डौ तोकिएको समयसीमामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्सलगायतका सामाजिक सञ्जाल दर्ता नभएपछि सरकारले समय थप्ने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको ३० दिने समयसीमा हिजो सकिएको हो । सरकारले गएको चैत ७ गते तेस्रो पटक सूचना निकालेर ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), युट्युब, गुगल जस्ता सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा दर्ता गर्नुपर्ने व्यवस्थासहित ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू गरेको छ ।

निर्देशिका लागू गरेसँगै सरकारले सबै सामाजिक सञ्जाललाई सूचीकृत गर्न निर्देशन दिएको थियो । अहिलेसम्म टिकटक, भाइबर र वीटकसहित तीनवटा सामाजिक सञ्जाल मात्र सूचीकृत भएका छन् ।

नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक र म्यासेन्जरको सञ्चालक कम्पनी मेटालाई सरकारले सूचीकृत हुन आग्रह गर्दै पटक–पटक पत्र पठाउँदै आएको छ ।

सरकारले सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search