शिक्षकहरूको आन्दोलनले काठमाण्डौको सबैभन्दा व्यस्त सडक खण्डमा यात्रुलाई सास्ती

काठमाण्डौ । काठमाण्डौको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा पछिल्ला २० दिनदेखि यात्रुले सास्ती भोग्नुपरेको छ । विभिन्न माग राखेर शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूको आन्दोलन शान्तिपूर्ण नै भए पनि हरेक दिन सडक प्रभावित हुँदै आएको छ । जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

पिक आवरु अर्थात् कार्यालय समयमा सडक अवरुद्ध हुँदा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतले समस्या भोग्नुपरेको छ । भक्तपुरको लोकन्थली बस्ने ३५ वर्षीय रामप्रसाद दाहाल बिहान साढे ९ बजे लोकन्थलीबाट न्यूरोड कार्यालय पुग्नुपर्छ । अरू बेला आधा घण्टामा पुग्ने गरेकोमा हिजोरआज सवा एक घण्टाभन्दा धेरै लाग्ने गरेको उहाँको गुनासो छ । आन्दोलन छिटो सकिए राहत हुने दाहाल बताउनुहुन्छ ।

पुरानो बानेश्वर बस्ने २८ वर्षीया मीना लामाको पनि समस्या उस्तै छ । ट्राफिक प्रहरीलाई सडक व्यवस्थापन मुख्य समस्या बनेको छ । अस्ति वैशाख ६ गतेसम्म दिनमा दिउँसो १२ देखि ३ बजेसम्म विरोध गर्दै आएका शिक्षकहरूले हिजोदेखि समय तालिका परिवर्तन गरी बिहान ९ देखि १२ बजेसम्म बनाएपछि विद्यार्थी, कार्यालय पुग्ने हतारोमा रहने कर्मचारी, व्यवसायीलगायतका यात्रुलाई सास्ती भएको छ । माइतीघरदेखि तीनकुनेसम्म पैदलै हिँड्नुपर्ने बाध्यता छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आन्दोलनका कारण यातायात प्रभावित भएको छ भने व्यवस्थापनमा पनि कठिन भएको छ ।

उहाँका अनुसार बानेश्वर–माइतीघरमा शिक्षकहरू जम्मा हुँदा गाडीलाई विभिन्न क्षेत्रबाट डाइभर्सन गरी सञ्चालन गरिएको अवस्था छ । मुख्यगरी तीनकुने, रणोद्वीप, कृष्ण पाउरोटीलगायतका क्षेत्रबाट डाइभर्सन गरिएको छ । डाइभर्सनका कारण पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणढोका, माइतीघर, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै चल्ने गाडीलाई ुक्युु मा सञ्चालन गरिएको छ ।

कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चावहिल, सोह्रखुट्टे, लैनचौर, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने गाडी पनि क्यु मै चलेको प्रहरीको भनाइ छ ।

देशका विभिन्न जिल्लाबाट काठमाण्डौ केन्द्रित भएका शिक्षकहरूका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाण्डौमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरूलाई हम्मेहम्मे परिरहेको छ भने केही शिक्षकहरू आफन्तकहाँ आश्रय लिइरहेका छन् ।

चैत र वैशाखको टन्टलापुर घाममा उनीहरूले कहिले गीत गाएर त कहिले कवितामार्फत आफ्ना माग राखिरहेका छन् । उनीहरूले विभिन्न गीत र नृत्यमार्फत विरोध र्‍यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् । उनीहरूको विरोध र्‍यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन ।

विभिन्न भागबाट काठमाण्डौ आएका शिक्षकहरूका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । नयाँ शैक्षिकसत्र शुरू हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षकहरू आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुपर्ने स्थिति रहेको बताउनुभयो । माग पूरा गरी छाड्ने नीतिका साथ आफूहरूले आन्दोलन अघि बढाएको उहाँ बताउनुहुन्छ । सरकारले शिक्षकहरूलाई वार्तामा आउन र घर फर्कन आग्रह गरेको छ । शिक्षकहरू भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search