काठमाण्डौ । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको मुद्धामा जातीय छुवाछुत कसूरमा दिइएको सजाय बदर गरेको छ ।
उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले मङ्गलवार घटनाका २३ प्रतिवादीलाई जातीय विभेदको कसूर बदर गरेको हो । उनीहरुविरुद्धको जन्मकैदको सजाय भने उच्च अदालतले सदर गरेको छ ।
उच्च अदालतका उप-रजिस्ट्रार प्रेमप्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक सदर गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको २०८० मङ्सिर १९ मा जिल्ला अदालत रुकुमपश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
नवराजकी प्रेमीका, प्रेमीकाकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको उप–रजिस्ट्रार थापाले बताउनुभयो ।
जिल्ला अदालतको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुबा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गर्नुभएको थियो ।
गएको वैशाख ९ मा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासमा सुनुवाइ भएको हो ।
पाँच वर्षअघि २०७७ जेठ १० गते सोती गाउँका स्थानीयको आक्रमणबाट जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, १७ वर्षीय गणेश बुढामगर, २१ वर्षीय सञ्जु विक, भेरी नगरपालिका-११ का १८ वर्षीय लोकेन्द्र सुनार, १७ वर्षीय गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको ज्यान गएको थियो ।
यो घटनामा जिल्ला अदालतले रुकुम चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल, नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जन्मकैदको फैसला सुनाएको थियो ।