काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित गरेको छ ।
भन्सारसम्बन्धी विधेयक उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।
विधेयकका सम्बन्धमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थ समितिमा पर्याप्त छलफल भएर परिष्कृत रूपमा संशोधनसहित विधेयक आएको बताउनुभयो । यस्तै कानूनमन्त्रीले विधेयकले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटिहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।
अब यी विधेयक राष्ट्रियसभामा जानेछन् । राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउनेछन् र सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनका रूपमा कार्यान्वयनमा आउनेछन् ।
प्रतिनिधिसभाको बैठक आउँदो शुक्रवारसम्मका लागि स्थगित भएको छ ।