वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको पशुपतिमा अन्त्येष्टि

काठमाण्डौ । वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई हिजो बेलुका अन्त्येष्टि गरिएको हो ।

पार्किन्सन्स रोगबाट पीडित ७१ वर्षीय नेपालको उपचारकाक्रममा हिजो दिउँसो काठमाण्डौ थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको थियो ।

अन्त्येष्टि अघि एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले) का महासचिव सीपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छु र आफन्तजनलगायत पशुपति पुगेका थिए ।

२०१० साल पुस २८ गते भोजपुरको गोगनेमा जन्मनुभएका नेपाल राजनीतिज्ञ र साहित्यकार मात्र नभई स्तम्भकार, लेखक र पत्रकारका रूपमा समेत परिचित हुनुहुन्थ्यो ।

उहाँले छलफल, दृष्टि, प्रकाश साप्ताहिकको सम्पादन गर्नुका साथै ती पत्रिकाको नियमित स्तम्भकारसमेत हुनुहुन्थ्यो । साथै उहाँ सप्तकोशी मिडिया प्रा।लीको अध्यक्षसमेत हुनुहुन्थ्यो ।

उहाँका कथाभित्रका ‘नारी अनुहार’, ‘परोपकार यात्रा’, ‘बेचिएका चेलीहरू’ र ‘सूर्यमान’ शीर्षका कथा सङ्ग्रहका अतिरिक्त ‘खुइते कडेरिया’, ‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘नओइलाउने फूल’, ‘देउमाइकको किनार मुक्ति’, ‘एक्काइसौं शताब्दीको सुम्निमा’, ‘नन्दीताल’गायतका उपन्यास प्रकाशित छन् । २०३३ सालमा नख्खुजेल तोडेर निस्कनुभएका नेता नेपाल २०४६ सालसम्म भूमिगत जीवन बिताउनुभयो ।

जतिसुकै प्रतिकूल अवस्थामा पनि धैर्यतापूर्वक त्यसलाई संयोजन गरेर लैजाने क्षमता उहाँमा रहेको सहकर्मीहरूले स्मरण गरेका छन् । नेता नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुदमन्त्री समेत बन्नुभएको थियो ।

२०८० साल चैत ३० मा भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि उहाँ सार्वजनिक कार्यक्रममा त्यति धेरै सक्रिय रहनुभएन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search