मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”
यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।
समाचारहरु
१. मकालु हिमालको सफल आरोहण गर्ने एकै परिवारका ६ जनालाई सम्मान
मकालु हिमालको सफल आरोहण गर्ने एकै परिवारका ६ जनालाई मकालु गाउँपालिकाले सम्मान गरेको छ । गत बैशाख २६ गते ८,४८५ मिटर अग्लो मकालु हिमालको सफल आरोहण गरेका ६ जनालाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा मकालु २ निवासी मुन्टुक लाक्पा शेर्पा, ङिमा दोर्चि शेर्पा, आङ डि शेर्पा, पासाङ याङ्जी शेर्पा, पेछुम्बे शेर्पा र मकालु हिमाल सफल आरोहण गर्ने सबै भन्दा कान्छि आरोही मकालु २ कि २३ बर्षिय एनिमा शेर्पा रहेका छन् ।
एकै परिवारका ६ जनाले मकालु हिमालको सफल आरोहण गर्नु नेपाली पर्वतारोहण इतिहासमै उल्लेखनीय उपलब्धि मानिएको छ । मकालुको सफल आरोहणले सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई खुशी तुल्याएको कालछिरिङ शेर्पाले बताए ।
यसैबिच नेपाल पत्रकार महासंघ संखुवासभाले पनि उनीहरुलाई खाँदबारीमा सम्मान गरेको छ । महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल रहेका थिए भने कार्यक्रमको बिशिष्ठ अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, राष्ट्रिय अनुशन्धान प्रमुख एसपी उमेश पाण्डे, संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी दक्ष कुमार बस्नेत, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, युवा नेता दीपन कुमार श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।
सम्मानित आरोहीहरूलको तर्फबाट आफ्नो धारणा राख्दै सगरमाथा हिमलका ५ पटक सफल आरोहण गरिसकेका काल छिरिङ शेर्पाले आफुहरुलाई राज्यले अझैपनि वेवास्था गरिरहेकाले दुःख लागेको बताउँदै स्थानीय तह र पत्रकार महासंघप्रति आभार व्यक्त गरे ।
२. मकालुमा शिविरमार्फत राष्ट्रिय परिचय पत्र वितरण
मकालु गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण भईरहेको छ । राष्ट्रिय परिचय पत्रको लगत संकलन तथा वितरणका लागि जिल्ला प्रशासन कार्यालयबाट कर्मचारीहरुको टोली यतिबेला मकालुका विभिन्न वडाहरुमा पुगेका छन् ।
उक्त टोलीले सबै वडामा २ दिन सेवा प्रदान गर्नेछ । जसमा वडा नं ६ मा जेष्ठ ९ र १० गते शिविर सञ्चालन गरेको थियो । जसमा १ सय ५८ जनाले सेवा लिएका छन् । यसतै वडा नं. १ मा जेष्ठ ११ र १२ गते शिविर सञ्चालन गरेको थियो । जसमा १ सय २८ जनाले सेवा लिएका हुन् भने वडा नं. २ मा जेष्ठ १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । शिविरमा ६८ जनाले सेवा लिएका छन् । यसै गरि वडा नं.३ मा १५ र १६ गते शिविर सञ्चालन हुनेछ भने वडा नं. ४ मा १७ र १८ गते सञ्चालन हुने छ । यस्तै वडा नं. ५ मा जेष्ठ १९ र २० गते सञ्चालन हुने गाउापालिकाले जनाएको छ ।
अघिल्लो राष्ट्रिय शिविरमा छुटेकाहरुको लगत संकलन र जिल्लामा प्राप्त भई आएको परिचय पत्र वितरण गर्ने गरि शिविर सञ्चालन भएको हो । जिल्ला प्रशासन कार्यालयका ४ जना कर्मचारी र एक प्रहरी, मकालु गाउँपालिकाका २ कर्मचारीसहित वडाका कर्मचारीहरुको संक्रियतामा शिविर सञ्चालन भइरहेको छ ।
जिल्लासम्म आउन नसक्ने जेष्ठ नागरिक, अपाङ्गहरुलाई सहज बनाउन शिविर आवश्यक रहेको कारण शिविर सञ्चालन गरिएको हो । भौगोलिक विकट भएको स्थानमा सरकारले अनिवार्य बनाएको राष्ट्रिय परिचय पत्र नभएकै कारण सेवा लिनबाट बन्चित नहोस् भनेर यो शिविर सञ्चालन गरिएको हो ।
शिविरमा परिचय पत्र बनाउन सक्कलै नागरिकता, विवाह भएकाहरुको विवाह दर्ता, बसाईसराई गरि आउनेको बसाईसराई, पति वा पत्नि एकको मृत्यु भएको खण्डमा मृत्यु दर्ता लिएर आउनु पर्ने हुन्छ । परिचय पत्र लिन आउनेहरु पहिले वितरण गरेको कागजातसहित स्वयम् उपस्थित हुनु पर्नेछ ।
३. व्यवसाय दर्ताका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न
स्थानीय उद्योगी तथा व्यवसायीलाई उद्योग दर्ता तथा नियमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिकाको केन्द्र नुममा जेष्ठ ८ र ९ गते दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र राई साथै अन्य कर्मचारीहरु, करदाता सेवा कार्यालय खाँदबारीका कर्मचारी, मकालु गाउँपालिकाका उपाध्यक्ष मनकला राई, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जी र स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय खाँदबारीको संयोजन तथा मकालु गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा नयाँ व्यवसाय दर्ता साथै नवीकरणसमेत गरिएको थियो । अभिमुखिकरण कार्यक्रमले व्यवसाय दर्ता गर्नुपर्ने कारण, यसका फाइदा तथा व्यवसायीहरुलाई उत्साह थप्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।
४. मकालुका ६ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मकालु गाउँपालिकाका ६ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिकाको आयोजना तथा संखुवासभा मल्टिमिडिया प्रा.लि. खाँदबारीको सहकार्यमा सञ्चालित कार्यक्रम पालिकाका सबै वडाहरुमा सम्पन्न भएको हो ।
चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार वडामा सञ्चालित पुर्वाधार योजना, कार्यक्रम तथा वडा कार्यालयद्वारा सेवा प्रवाहको गुणस्तरीयता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम वडा–वडामा नै भएको हो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, बुद्विजिवि, शिक्षक विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधी र स्थानीय नागरिकको उपस्थिती रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम पहिलो चरण अन्तर्गत २०८१ चैत्र १८ गते मकालु गाउँपालिका वडा नं ५ मा, चैत्र २० गते मकालु ३ गढीमा, चैत्र २२ गते मकालु ६ मा सञ्चालन भएको थियो ।
यस्तै दोस्रो चरणमा २०८२ जेष्ठ ७ गते मकालु ४ मा, ९ गते मकालु २ सेदुवामा र जेष्ठ ११ गते मकालु १ ठाँगेमा कार्यक्रम सम्पन्न भएको हो । आगामी असारमा मकालु गाउँपालिका कार्यालयको सार्वजनिक सुनुवाई हुने जनाइएको छ ।
५. मकालु २ मा अल्लो प्रशोधन सम्बन्धी १ महिने तालिम सुरु
मकालु गाउँपालिका वडा नं. २ सेदुवामा अल्लो प्रशोधन सम्बन्धी १ महिने तालिम सुरु गरिएको छ । पाथवे नेपाल इटहरीको आयोजना तथा मकालु गाउँपालिकाको आर्थिक सहयोगमा जेष्ठ ९ गतेदेखि सुरु गरिएको छ ।
आयोजक संस्थाका प्रतिनिधि तथा प्रशिक्षकहरु, वडाका जनप्रतिनिधि र स्थानयिको उपस्थितिमा वडा कार्यालयको प्रांगणमा कार्यक्रम उद्घाटन गरिएको हो । यसअघि मकालुका विभिन्न वडामा अल्लो प्रशोधन सम्बन्धी तालिम सञ्चालन भइसकेको छ । स्थानीय उत्पादनलाई सदुपयोग तथा नागरिकलाई आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको र तालिम लिईसकेपछि सबैले व्यवहारमा उर्तान वडा सदस्य दिप बहादुर खम्बुले आग्रह गर्नुभयो ।
६. बेमौसमी तरकारी खेती प्रविधि तालिम सम्पन्न
मकालु गाउँपालिकामा बेमौसमी तरकारी खेती प्रविधि तालिम सम्पन्न भएको छ । मकालु गाउँपालिकाको सहयोगमा पिरामिड टेक्निकल इन्टिच्युट प्रा.लि. इटहरीले तालिम दिएको हो । वैशाख ३१ देखि सुरु भएको तालिम जेष्ठ ६ गते सम्पन्न भएको हो ।
सीप तथा क्षमता विकास कार्यक्रम अन्तर्गत तालिम दिइएको हो । तालिममा स्थानीय कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रशिक्षकहरुबाट विभिन्न किसिमका तरकारीहरुमा लाग्ने रोग र तीनको नियन्त्रण साथै आवश्यक सल्लाह सुझावहरु दिइएको थियो ।
अन्तरवार्ता
बजेट अभावमा विकट भूगोलमा विकास गर्दैछु : बाल कुमार तामाङ, वडा अध्यक्ष
मकालु गाउँपालिका वडा नं. ४ ले चालु आर्थिक वर्षमा सञ्चालन गरिरहेको योजना तथा कार्यक्रमको बारेमा वडा अध्यक्ष बाल कुमार तामाङसँग सहकर्मी मेघराज तामाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
१. अध्यक्ष ज्यू यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद ।
२. मकालु गाउँपालिकाको वडा नं. ४ मकालुकै विकट एउटा वडा हो, बर्खा लागि सकेको छ । यो आर्थिक बर्षमा यहाँहरुको योजना सञ्चालनको गति कस्तो छ ?
यो मकालु गाउँपालिकाको ४ नं. वडा अत्यन्त विकट वडा भन्ने त सबैलाई नै थाहा छदैछ । यहाँ एउटा समस्या छ । सबै भन्दा आवश्यक भनेको त बजेट कै अभाव हो । ठूलो बजेट ल्याउनलाई पालिकाले मात्रै नसक्ने प्रदेश तथा संघमा पनि हामीले कुरा अगाडि बढाएकै हो । तर सम्भव कमै छ । यस्को लागि हामी कोसिश चाहिँ गरिरहेका छौँ । सकेसम्म यस्को समाधान हुन्छ बन्ने आशामा छौँ ।
३. यो साल वडाको कति वटा योजनाहरु सञ्चालनमा छन ?
योजना त धेरै थियो तर यति वटा भन्ने कुरा चाहिँ मलाई यकिन हुन सकेन ।
४. त्यसमा कामको प्रगति चाहिँ ?
अहिले काम भईरहेको योजनाहरु धेरै चाहिँ भईसकेको छ । २÷४ वटा योजनाहरु सम्झौता नै नभएको पनि छ । केहि सम्झौता भएर पनि त्यसको काम भईरहेको अवस्था छैन ।
५. वडा नं. ४ प्रवेशको लागि अरुण नदि सधैँ बाधकको रुपमा देखिन्छ, यता वडा नं. ४ प्रवेश गरिसके पछि आन्तरिक रुपमा सडक ट्रयाक ओपन पनि भई सकेको छ । उताबाट पुलको मुखसम्म सडक आएको छ तर जहाँ पक्की पुल बन्नु पर्ने हो त्यहाँ पुल नबने पछि सवारी साधन वडा नं.४ आउन सकिरहेको छैन । यो पुल निमार्णको लागि यहाँको ३ वर्ष व्यतित गरि राख्दा खेरी केके प्रयास गर्नुभयो ?
हामिले पटकपटक माग गरेको हो । सिफारिस पनि ३ पटक पठाईसकेको छ र पुलको योजना परि सकेको छ । तर मैले अस्ती भर्खरै मात्रै माननीय ज्यूलाई फोन गर्दा खेरी यो चैत्र भित्र पुलको टेन्डर आह्वान हुने भयो भनेर खबर गर्नु भएको थियो । खासमा यो पुल परिसकसेको छ तर बहुवर्षे योजना भनेको छ प्रत्येक वर्ष आउने अथवा योजना परेपनि २÷७ वर्ष लाग्छ होला ।
६. अहिले बिजुली बत्तीको अवस्था के छ, वडा नं. ४ मा ?
अब यो बिजुली बत्तीको विस्तार चाहिँ एकदम भई रहेको छ । यो कार्माराङमा पनि केन्द्रिय लाईन आइसकेको छ । कतिपय बत्ती बाल्ने क्रममा चाहिँ गाउँलेहरुले हिचकिचाई रहेको अवस्था छ । लगभग यहाँ केन्द्रिय लाईन सबै घरमा नै जडान हुने अवस्थामा छ ।
७. वडा नंं. ४ भित्र केन्द्रिय लाइनको बत्ती बाल्नेको घर संख्या कति छ ?
अहिले सबै घरमा बालेको छैन । ४ नं. वडामा ओवाकको चाहिँ उहाँहरुले जम्मा १ सय १० घर भन्नु भएको छ । त्यसमा सबै घरधुरीले बालिसकेको छ । त्यसमा सिरुटारमा पनि बालिसकेको अवस्था हो । त्यस पछाडी बैदेसम्म पनि पोल गाढेर तार टाँगिसकेको र छिट्टै रनेगाउँ, भैँसीखर्कमा पनि अर्काे बर्ष गर्नुपर्छ भन्ने कुरा भईरहेको छ ।
८. अव बाँकी पावाखोला निकै विकट छ, यहिँ वडाको पनि । पावाखोला लगायतको विकट क्षेत्रहरुमा यहाँको कार्यकालमा बिजुली बत्ती सम्भावना छ ? त्यहाँसम्म विस्तार गर्नको लागि ?
लगभग मेरो कार्यकाल अब दुई बर्षमा पुग्छ होला भन्ने मैले आशा गरेको छु । हिजो अस्ती भरखरै मात्रै पावाखोला लाने केन्द्रिय लाईनको बारेमा चाहिँ जिल्ला प्राधिकरणले जिम्मा लिएको छ भन्ने कुरा आएको थियो । यस्को टेन्डर जिल्ला प्राधिकरणले लिने भन्ने कुरा भएको छ ।
९. यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद ।
धन्यवाद ।
यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा एक्सप्रेस साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।












