झापा । झापामा ठूलो पानी परेपछि माईखोलामा बाढी आएको छ । झापा गाउँपालिका–२ सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।
मनसुन शुरू भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित ठाउँमा सरेका छन् ।
वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा जोखिम बढेको छ । ६० बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति भएको छ ।
मनसुनको शुरुआतमै माईखोलामा सामान्य बाढी आउँदा पनि समस्या निम्तिएको अध्यक्ष चाम्लागाईले बताउनुभयो ।
झापा गाउँपालिकाका वडा १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ । यस वर्ष सदरदभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
कोशी प्रदेशमा मनसुनी प्रभाव देखिएको छ । बिहीवार राति नेपाल प्रवेश गरेको मनसुन फैलिनेक्रममा छ ।