काठमाण्डौ । आज राति पनि कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति बिहीवार बेलुका मनसुन भित्रिएदेखि नै कोशी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेकोमा आज राति पनि पानी पर्ने सम्भावना रहेको मौसमव्दि प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
अहिले देशका धेरै ठाउँमा बदली भए पनि पानी निकै थोरै ठाउँमा मात्रै परेको छ । तर राति कोशीका पहाडी भूभाग तथा मधेशका केही जिल्लामा पनि ठूलो वर्षाको सम्भावना छ । बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन आज पनि कोशीमै थप सक्रिय हुने क्रममा छ ।
यसैबीच नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोको जोखिम शुरू भएको छ । मनसुन भित्रिएको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार बिहान परेको पानीले धरान-धनकुटा सडकसहित कोशी प्रदेशका ७ वटाभन्दा धेरै सडक अवरुद्ध बनाएको छ ।
आजै झापामा माईखोलाको बाढीले २२ वटा घर डुबानमा परेका छन् । विराटनगरमा पनि केही घरमा पानी पसेको छ ।