रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१० चौरगाउँमा उत्पादन भएको १०३ क्विन्टल लसुन काठमाण्डौ पठाइएको छ । गाउँका २८ घर परिवारले उत्पादन गरेका लसुन वडा कार्यालयको सहजीकरणमा काठमाण्डौ पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौरगाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा धेरै १३ क्विन्टल ३० किलो लसुन बिक्रीका लागि काठमाण्डौ पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्विन्टल ४ किलो बिक्री गर्नुभएको छ । चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।
लसुनलाई तीन ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ मा विभाजन गरेर बिक्री गरिएको हो । किसानले ‘ए’ ग्रेड लसुनलाई प्रतिकिलो १२५, ‘बी’ ग्रेडलाई १०५ र ‘सी’ ग्रेडलाई प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरेका छन् । अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ ।
लसुनबाट बिक्रीबाट डेढ करोड रुपैयाँ भित्रिने वडा कार्यालयको अनुमान छ । अहिले वडामा २५० किसानले व्यावसायिक लसुनखेती गर्दै आएका छन् ।