पर्सा । पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर बिरामीको उपचार गरिएको छ ।
अति संवेदनशील मानिने ‘आईसीयू’ र ‘सीसीयू’ कक्षमा शुक्रवार राति आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा मोवाइलको लाइट बालेर उपचार गर्नुपरेको हो । मध्यरातमा झन्डै साढे दुई घण्टा विद्युत् सेवा विच्छेद भएको थियो ।
अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ जना बिरामी उपचारत थिए । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध हुन पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको संवेदनशील कक्षमा विद्युत् आपूर्ति विच्छेद हुनु गम्भीर विषय रहेको भन्दै आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले अस्पतालका पदाधिकारी तथा कर्मचारीसँग संयुक्त बैठक गरी संवेदनशील हुन निर्देशन दिनुभएको हो ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले आउँदो दिनमा यस्तोखाले घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।