फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट जर्मेन (पीएजसी) का समर्थकहरूबीच भएको झडपपछि प्रहरीले झन्डै तीन सय जनालाई पक्राउ गरेको छ । पीएसजीका समर्थकहरू च्याम्पियन्स लिगको उपाधि जितेको उत्सव मनाइरहेका बेला प्रहरीसँग झडप भएको बीबीसीले जनाएको छ ।
पीएसजीको रङ्गशाला पार्क डेस प्रिन्सेस र च्याम्प्स–एलिसेस क्षेत्रमा ठूला स्क्रिनमा झन्डै ५० हजार मानिसले फाइनल खेल हेरेका थिए । पीएजसीको जितपछि केही मानिसहरूले पटाका पड्काएका र केहीले बस बिसौनीमा तोडफोड गर्नुका साथै गाडीहरूमा आगजनी गरेका खबरमा उल्लेख छ ।
उत्सवको समयमा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा पाँच हजार चार सयभन्दा धेरै प्रहरी तैनाथ गरिएका थिए । धेरै ठाउँमा प्रहरी र भीडबीच झडप भएको थियो । भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो ।
गएराति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजीले पहिलो पटक युरोपको सबैभन्दा ठूलो उपाधि जितेको थियो ।