काठमाण्डौ । उच्च शिक्षामा अनुसन्धान अनिवार्य गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूसँगको अन्तरक्रियामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयका विद्यार्थीले पढाइ र अनुसन्धानलाई सँगसँगै लानुपर्ने भएकाले उनीहरूलाई वित्तीय सहयोग पनि आवश्यक पर्ने बताउनुभएको हो ।
सामान्यतया स्नातकोत्तर र विद्यावारिधि स्तरका विद्यार्थीले विश्वविद्यालयमा अनुसन्धान गर्ने भएकाले उनीहरूलाई सहयोग स्वरूप मासिक वृत्ति ३० हजार रुपैयाँसम्म प्रदान गरिरहेको अध्यक्ष जोशीले जानकारी दिनुभयो । विश्वविद्यालयले विभिन्न दाताहरूको सहयोगमा विद्यार्थीलाई अनुसन्धानका लागि एक करोड ५० लाख रुपैयाँसम्म सहयोग गरिसकेको छ ।
मकवानपुरको चित्लाङमा रहेको विश्व विद्यालय भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले कृषिको उत्पादनमा आधुनिकीकरण गरी यसको प्रत्यक्ष प्रभाव नागरिकसम्म पुर्याउन विश्वविद्यालयलाई अनुरोध गर्नुभयो । विद्यार्थीले अनुसन्धानबारे आफ्नो ज्ञान र क्षमताको सदुपयोग आफ्नै देशमा गर्न सक्ने वातावरण बनेमा उनीहरूलाई खाडीलगायत अन्य देश जान नपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले अनुसन्धानमार्फत ज्ञानलाई उत्पादनसँग जोडी नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने विद्यार्थी उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अस्ति जेठ १६ र हिजो १७ गते भएको विश्वविद्यालयको स्थलगत अवलोकन तथा विद्यार्थी एवम् प्राध्यापकसँग अन्तरक्रिया कार्यक्रममा समितिका सदस्यहरू छविलाल विश्वकर्मा, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, सरिता भुषाल र ज्ञानु बस्नेत सुवे पनि सहभागी हुनुभएको थियो ।
कार्यक्रममा डिजिटल प्रविधि, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोत साधन, दिगो तथा लचिलो पूर्वाधार, च्याउ लगायतसम्बन्धी अनुसन्धान प्रयोगशालाहरूको अवलोकन गर्नुका साथै सम्बन्धित विषयको अनुसन्धान गतिविधिबारे जानकारी दिएको प्राध्यापक डा। राजिव सुब्बाले बताउनुभयो ।