बङ्गलादेशको सर्वोच्च अदालतले जमात–ए–इस्लामी पार्टीको दर्ता पुनः स्वीकृत गरेको छ । अदालतले पार्टीको दर्ता रद्द गरेको निर्णय उल्टाउँदै कानून अनुसार दल दर्ता गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
योसँगै बङ्गलादेशको सबैभन्दा ठूलो धार्मिक दलले चुनावमा भाग लिन पाउने भएको छ । गएको अगस्टमा शेख हसिनालाई प्रधानमन्त्री पदबाट हटाएपछि जमात–ए–इस्लामी पार्टीले सन् २०१३ मा उच्च अदालतको आदेश पुनरावलोकनका लागि अपील गरेको थियो । सर्वोच्च अदालतले गएको मे २७ मा जमात–ए–इस्लामीका प्रमुख नेता एटीएम अजहरुल इस्लामविरुद्धको सजाय उल्टाइसकेको छ ।
सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका क्रममा बलात्कार, हत्या र नरसंहार गरेको आरोपमा इस्लामलाई सन् २०१४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । उनी बङ्गलादेशका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री हसिनाका पिता शेख मुजिबुर रहमानका प्रतिद्वन्द्वी थिए ।
हसिनाले आफ्नो कार्यकालमा जमात–ए–इस्लामीमाथि प्रतिबन्धसहित उसका नेताहरूविरुद्ध कारबाही गर्नुभएको थियो । अहिले हसिनाको पार्टी अवामी लिग प्रतिबन्धित छ ।