१०० क्षेत्रको आयो नतिजा : रास्वपाको मात्रै ७९ सिट, ४३ मा अग्रता

काठमाडौं । १६५ क्षेत्रमध्ये १०० क्षेत्रको नतिजा आएको छ । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मात्रै ७८ सिट रहेको छ । यसबाहेक कांग्रेसको ११, एमालेको ५, नेपाली कम्युनिस्ट पार्टीको ३, राप्रपाको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् ।

गत बिहीबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाको आग्रता रहेको छ ।

विघटित प्रतिनिधिसभामा रास्वपा चौथो दल थियो । यो पटक स्पष्ट एकल बहुमतको रुपमा अगाडि आएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दोस्रो र तेस्रो दल रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट यसपटक निकै खुम्चिएका छन् ।

रास्वपा बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर चुनावमा होमिएको थियो । बालेन काठमाडौं महानगरमा निवर्तमान मेयर हुन् । २०७९ सालका स्वतन्त्र उठेर काठमाडौंको मेयरको चुनाव जितेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधि सभाको चुनावमा होमिएका हुन् ।

उनै बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको रास्वपाले एकल सरकार बनाउने गरी बहुमत पाएको हो । बालेन आफैँ झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उक्त क्षेत्र विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो ।

२०४८ सालदेखि झापामा सदाबहार उम्मेदवारको रुपमा रहेका ओलीलाई रोकेर बालेन झापा ५ बाटै निर्वाचित भएका छन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८, ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

रास्वपाकी सचिवालय सोविता गौतमले अब बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् । गौतम आफैँले पनि चितवन–३ बाट चुनाव जितिन् । निर्वाचित भएपछि पत्रकारसँग कुराकानी गर्दै गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने बताएकी हुन् ।

रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ । ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ नेतृ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search