सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुर्खेत–२ को उम्मेदवार बन्दै गर्दा रमेश सापकोटालाई लागेको थिएन, यो पटक चुनाव जितिन्छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म यो क्षेत्रमा रास्वपाको उम्मेदवार को बन्छ भन्ने नै टुङ्गो थिएन ।
रास्वपा भित्र पनि चार–पाँच जना नेताहरू आकांक्षी थिए । अन्ततः रास्वपा सुर्खेत सभापतिसमेत रहेका सापकोटाले टिकट पाए । मनोनयन दर्ता गराए र घरदैलोमा होमिए । ‘घरदैलोमा हिँडेपछि थापा पाएँ, घण्टीको पक्षमा अभूतपूर्व जनलहर थियो । अनि लाग्यो, अब चुनाव जितिन्छ,’ सापकोटा भन्छन् ।
त्यसपछि उनले सामाजिक सञ्जालमा आक्रामक प्रचार चलाए । घरदैलोलाई व्यापक बनाए । प्रत्येक टोल–टोलमा पुगे । पुराना दलहरूप्रतिको वितृष्णालाई हतियार बनाए । ‘कांग्रेस–एमालेले चार दशकदेखि के दिए ?’ भन्दै चर्को प्रश्न गरे ।
रमेशले आक्रामक चुनावी प्रचार गरे पनि अन्य दलहरूलाई लागेको थियो– उनले भोट काट्छन् । तर चुनाव जित्दैनन् । त्यसको कारण थियो, यो क्षेत्रमा विगत चार दशकदेखि (२०६४ बाहेक) कांग्रेस–एमालेले चुनाव जित्दै आएका थिए । २०५१ को निर्वाचनयता यो क्षेत्र कांग्रेस नेता हृदयराम थानी र एमाले नेता यामलाल कँडेलको म्युजिकल चियर जस्तै थियो ।
थानी–कँडेलको बरोबर चुनावी हारजित चलिरह्यो । देशमा व्यवस्था फेरिए तर ती दुई अनुहार फेरिएका थिएनन् । २०७४ यति प्रदेशमा झरेका कँडेल हाल कर्णालीका मुख्यमन्त्री छन् भने निवर्तमान सांसद थानी पुनः दोहोरिन चाहन्थे । कांग्रेस विशेष महाधिवेशनपछि उनले एकाएक चुनाव नलड्ने घोषणा गरे ।
कांग्रेसले बौद्धिक छवि बनाएका युवा नेता नारायण कोइरालालाई उम्मेदवार बनाएको थियो भने एमालेले पनि जिल्ला अध्यक्ष कुलमणि देवकोटालाई चुनावी मैदानमा उतारेको थियो । यी दुवै नेता ‘फ्रेस फेस’ थिए । जिल्लामा रमेशभन्दा लामो समयदेखि राजनीति लागेका उनीहरू विवादरहित र प्रभावशाली नेताको रूपमा चिनिन्थे ।
जसले गर्दा यो चुनाव कोइराला–देवकोटामध्ये एकले जित्ने धेरैको अनुमान थियो । सापकोटा भने आत्मविश्वासका साथ भन्थे, ‘जनता जागिसके, सुर्खेत–२ मा घण्टी बज्छ ।’ अन्ततः उनी फराकिलो मत अन्तरले विजयी हुँदै कांग्रेस–एमालेको चार दशक लामो विरासत तोड्न सफल भएका छन् ।











