काठमाण्डाै । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्र र नयाँ सरकारको आर्थिक नीतिमा केन्द्रित रहेर बजेट बनाउनका लागि तयारी भइरहेको मन्त्रालयका सहसचिव टङ्कप्रसाद पाण्डेयले बताउनुभयो ।
उहाँकाअनुसार झन्डै दुईतिहाइको बहुमत ल्याएको रास्वपाले सरकार बनाउने भएकाले उसको वाचापत्र, संवैधानिक दायित्व र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई बजेटमा समेटिनेछ ।
रास्वपाको वाचापत्रमा आउँदो ५ वर्षभित्र ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ खर्ब डलर नजिक पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य छ ।
अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेट सिलिङ तोकिसकेको छ र बजेट क्यालेन्डरअनुसार चैत मसान्तभित्र बजेट प्रस्ताव पेश गरिसक्नुपर्नेछ । सरकारले आउँदाे जेठ १५ गते सङ्घीय संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।











