इन्डोनेशियामा अभियन्ता लक्षित आक्रमण बढ्दाे, सुरक्षा चुनाैती गम्भीर

इन्डोनेशियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटनाहरू बढ्दै गएको देखिएको छ । गएको फेब्रुअरीमा सुमात्रा टापुमा अभियन्ता मोहम्मद रोसिदीमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले कारको झ्यालबाट एसिड फ्याँकेपछि उहाँ गम्भीर रूपमा घाइते हुनुभएको थियो । एसिडले उहाँका हात, खुट्टा र शरीरका विभिन्न भागमा जलन र चोट पुर्‍याएको थियो ।

यो आक्रमण अवैध खानी र तस्करीविरुद्धको आफ्नो अभियानसँग सम्बन्धित हुन सक्ने अभियन्ता रोसिदीले आशङ्का गर्नुभएको छ । यद्दपि यो घटनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

यस्तै राजधानी जाकार्तामा मानव अधिकार अभियन्ता आन्द्रिए युनुसमाथि स्कुटरमा आएका व्यक्तिले एसिड फ्याँकेका थिए जसका कारण उहाँको एक आँखाको दृष्टि गुम्ने खतरा रहेको छ ।

मानव अधिकार संस्थाहरूले इन्डोनेशियामा सरकारको आलोचना गर्ने व्यक्तिहरूमाथि दबाव र हिंसा बढ्दै गएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अभियन्ता, पत्रकार र नागरिक समाजका व्यक्तिहरू धम्की र आक्रमणको जोखिममा परेका रिपोर्ट सार्वजनिक भएको छ ।

एमनेस्टी इन्टरनेशनलले सन् २०२५ मा इन्डोनेशियामा ३०० जना मानव अधिकार अभियन्ताहरूलाई धम्की र हिंसाको निशाना बनाइएको बताएको छ ।

सरकारी पक्षले आलोचनालाई स्वीकार गर्ने र अभिव्यक्ति स्वतन्त्रता कायम रहेको दाबी गरेको जनाएको छ । तर अधिकारकर्मीहरूका अनुसार एशिड आक्रमणजस्ता घटना डर फैलाउन र आलोचकहरूलाई चुप गराउने उद्देश्यले गरिएका हुन् ।

अभियन्ताहरूले कडा सुरक्षा चुनौतीका बाबजुद पनि आफ्नो अभियानलाई निरन्तरता दिने बताएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search