काठमाण्डौ । कृषि तथा पशुपन्छी मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका–२०८२ जारी गरेको छ । निर्देशिकाअनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनुअघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारेमा किसानलाई जानकारी गराइनेछ । प्रमुख ५ वटा बाली धान, गहुँ, मकै र कोदो तथा नगदे बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, २०८२ जारी गर्नुभएको हो । त्यसअनुसार उखुको हकमा भदौ ३० गतेसम्म ‘फिल्ड’ सर्वेक्षण तथा तथ्याङ्क सङ्कलन गरिनेछ भने असोज १५ गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ । त्यसपछि कात्तिक १० गते प्राविधिक समितिबाट सिफारिस भई कात्तिक ३० गतेसम्म अन्तिम सिफारिस पेस गरिने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गहुँका लागि साउन ३० गतेसम्म सर्वेक्षण, भदौ १५ गतेसम्म प्रतिवेदन, असोज ९ गते प्राविधिक सिफारिस र असोज ३० गते अन्तिम सिफारिस गर्ने कार्यतालिका छ । चैते धान, वर्षे धान, वर्षे मकै र कोदोका लागि पनि क्रमशः मङ्सिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिस प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ ।
उखुको कात्तिक ३०, गहुँको असोज ३०, चैते धानको माघ ८, बर्खे धानको वैशाख ३०, बर्खे मकैको फागुन २१, र कोदोको वैशाख ७ मा न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उल्लेख छ ।
सरकारले बाली रोपाइँ या लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्यसहित कार्यतालिका सहितको निर्देशिका ल्याएको जनाएको छ ।











