काठमाण्डाै । काठमाण्डाै उपत्यकामा चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ हजार ६ सय ३१ गाडी दुर्घटना भएका छन् ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ती दुर्घटनामा १७४ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार साउनदेखि चैत समान्तसम्म भएका दुर्घटनामा १८६ जना गम्भीर घाइते र ४ हजार ९२७ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना १६ वर्षमुनिका रहेका छन् । १६ देखि ३५ वर्ष उमेरसम्मका ८६ जना र ३६ वर्षमाथिका ८१ जना रहेका ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा जाँचमा कडाइ गरेको छ । जाँड–रक्सी खाएर गाडी चलाउनेदेखि अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाहीलाई तीव्रता दिएको हो ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरणअनुसार गएको चैत १३ गतेपछिको झन्डै डेढ महिनामै साढे ८६ हजारभन्दा धेरै चालक कारबाहीमा परेका छन् । उनीहरूबाट ६ करोड ३९ लाख २८ हजार ५८५ रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले बताएको छ ।










