काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । बैठक शुरू भएलगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले आ–आफ्नो ठाउँबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद् बैठक छाडेर जानुभएको छ । त्यसअघि संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अङ्कित प्लेकार्डसहित उभिएर सदनको ध्यानाकर्षण गराएका थिए ।
श्रम संस्कृति पार्टीले हिजोकोे बैठकमा पनि यसैगरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन आज पनि संसद् बैठकमा पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।
यसैबीच सांसदहरूले सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन् । यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कारबाही गर्न उनीहरूकाे माग छ ।
प्रतिनिधिसभामा सरकारको आउँदाे आर्थिक वर्षकाे नीति कार्यक्रममाथि छलफल चलिरहेको छ ।











