काठमाण्डौ । पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । भोलि बिहीबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरु हुने र पर्सि शुक्रबार राति यो क्रम अझ बढ्ने मौसमविद्को अनुमान छ ।
लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ । अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ ।
पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ । मौसमविद् विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । तर मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमान अनुसार भोलि दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही ठाउँ, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
भोलि राती देशभर साधरणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।
पर्सि दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँमा र मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ । शुक्रबार राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनीसहित बागमती, गण्डकी, मधेश र कोशी प्रदेशको विभिन्न ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।











